कुरो नमिलेपछि बूढानीलकण्ठमा कांग्रेस मात्रै बस्ने, घाम अस्ताएपछि सबै बालुवाटारै पस्ने

सोमबार, जेठ १४, २०८१

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदन अवरोध गरेको लामो समय भयो। सदनको गतिरोध अन्त्यको प्रयासमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रयास गरेको पनि धेरै भयो। तर समस्या जहाँको त्यहीँ छ। सत्ता पक्ष र प्रतिपक्ष दलहरुसँग आज गरेको छलफल निष्कर्ष विहीन भएको छ ।

बिहान सबेरै प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले अलग अलग र संयुक्त छलफल गरेका थिए । तर सहमति नजुटेपछि आजै साँझ फेरि छलफल गर्ने भन्दै नेताहरु जर्याक जुरुक उठेका छन् ।

बालुवाटारको वार्ता विफल भएपछि कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारी बैठक आह्वान भएको छ । आज दिउँसो १ बजे पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बैठक डाकिएको छ । कांग्रेसले आन्तरिक रूपमा छलफल गर्न पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाएको हो।

संसदीय छानबिन समिति बनाउन सत्ता पक्ष तयार देखिए पनि रवि लामिछानेको नाम राख्ने कि नराख्ने भन्नेमा सत्ता र प्रतिपक्षीबीच कुरा मिल्न सकेको छैन। कांग्रेस अडान बाट पछि हटेको छैन भने सत्ता पक्षले पेलेरै जाने रणनीति बनाएको छ। सरकाले भोलि जेठ १५ गते १ बजे बजेट भाषण गर्दैछ तर समस्या सुल्झिएको छैन। 

प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  १२:०४
प्रतिक्रिया दिनुहोस्