सोसल मिडिया
युनिकोड
सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचारको अर्को मुद्दामा पनि दोषी ठहर भएका छन्। विशेष अदालतले पौडेललाई सोमबार भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र न्यायाधीशहरु रामबहादुर थापा र रितेन्द्र थोपाको इजलासले झुटा विवरण पेस गरी भ्रष्टाचार गरेको अभियोगमा पौडेललाई दोषी ठहर गरेको हो।
विशेष अदालतले उनलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा अनुसार कसुर गरेको ठहर गर्दै १ वर्ष कैद र १० हजार जरिवाना हुने फैसला सुनाएको छ। विकलले आफ्नो अमेरिकाको स्थायी आवासीय अनुमतिपत्र रहेको कुरा ढाँटेर नेपालमा सरकारी सेवामा कार्यरत रहेको ठहर गर्दै उक्त सजाय सुनाएको हो।
पौडेललाई भ्रष्टाचार निवारण ऐन अनुसार ६ महिना र सार्वजनिक संस्थाको प्रमुख कार्यकारी पदमा कार्यरत रहेकाले भ्रष्टाचार निवारण ऐनको दफा २४ बमोजिम थप ६ महिना कैद सजाय हुने भन्दै एक वर्ष कैद हुने विशेषको फैसलामा उल्लेख छ।
कुनै विदेशी मुलुकमा स्थायी आवासीय अनुमति पत्र प्राप्त गरेको व्यक्ति उल्लिखित पदमा नियुक्तिको लागि अयोग्य हुने स्पष्ट प्रावधान हुँदा हुँदै ढाँटेर नियुक्ति लिएको फैसलामा उल्लेख छ।
यसअघि उनी २ वटा भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका थिए। विशेष अदालतमा उनी विरुद्ध अकुत सम्पत्ति आर्जन गरेको मुद्दा बाँकी नै छ।