रात छिप्पिएपछि बालुवाटारमा मिल्यो कुरो, अर्थमन्त्रीले ढुक्कैले बजेट पढ्ने

सोमबार, जेठ १४, २०८१

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ अबेर देखि बसेको बैठकले संसद्‌मा जारी गतिरोध अन्त्य गर्न सैद्धान्तिक सहमति जुटाएको छ। सत्ता र प्रमुख प्रतिपक्षी दलहरूबीच कुरा मिलेपछि सदन सुचारू हुने भएको हो। 

सहमति जुटेको र भोलि कार्यदलको बैठक बसेर अन्तिम रुप दिने सहमति गरेर नेताहरू बाटो लागेका छन्। सहकारीको रकम अपचलनबारे छानबिन गर्न बन्ने संसदीय समितिको टीओआर (कार्यादेश) बारे दलहरू सहमति जुट्न सकेको थिएन। 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संसद्को गतिरोध अन्त्य गर्नेगरी सोमबार साँझ ६ बजेदेखि नै सत्ता र प्रतिपक्षका नेताहरू छलफलमा जुटेका थिए। सोमबार बिहान पनि एक चरणमा बालुवाटारमै वार्ता भएको थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितको छलफलमा सहभागी दुवै दलका नेताहरूले आ–आफ्नो अडानमा टसमस भएका थिएनन्। 

यद्यपि बिहान बालुवाटारमा भएको छलफलबारे कांग्रेस नेताहरूले दिउँसो पार्टी सभापति शेरबहादुर देउवा निवास बालुवाटारमा छलफल गरेका थिए। 

लगत्तै उनीहरू प्रधानमन्त्रीलाई भेट्न बालुवाटार फर्किएका थिए। कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, नेताहरू कृष्ण प्रसाद सिटौला, जीवन परियार, रमेश लेखक लगायतका नेताहरू बालुवाटारमा छलफल गर्न पुगेका थिए।

त्यस्तै, टीओआर कार्यदलमा सहभागी नेताहरू पनि बालुवाटार पुगेका थिए। 

यसअघि नै समिति बनाएर जाने कुरामा सत्ता र प्रतिपक्षीबीच कुरा मिलिसकेको थियो। यद्यपि टीओआरमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम राख्ने विषयमा कांग्रेसले अडान राखिरहेको थियो। सहमति भएको भनिएपनि रविको नाम राख्ने कि नराख्ने भन्ने विषयमा भने नेताहरुले खुलेर बताएका छैनन्। 
 

प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  २२:२६
प्रतिक्रिया दिनुहोस्