सोसल मिडिया
युनिकोड
बलात्कारको अभियोगमा जिल्ला अदालत काठमाडौँले आठ वर्ष कैद सजाय तोकेको तर उच्च अदालतले सफाई दिएको सन्दिप लामिछानेलाई अमेरिकाले चौथो पटक सम्म पनि भिसा दिएन।
खेलकुदसम्बन्धी सबै संयन्त्र, युवा तथा खेलकुद मन्त्री र प्रधानमन्त्रीले पहल गर्दा पनि क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले भिसा नदिएको खुलेको छ ।
गत जेठ ९ मा पहिलो पटक भिसा दिन अस्वीकार गरेपछि सरकारले सन्दीपलाई यही जुनमा हुने टी-२० विश्वकपका लागि पठाउन सक्दो कोसिस गरेको युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले बताए ।
‘हाम्रोतर्फबाट, सरकारको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले पनि सन्दीपलाई भिसाका लागि पहल गरेको हो’, श्रेष्ठले भने, ‘मैले परराष्ट्रमन्त्री र प्रधानमन्त्रीलाई भनेपछि सरकारले अमेरिकी दूतावासमा भिसा नोट पनि पठाएको हो । कूटनीतिक हिसाबमा भिसा दिने-नदिने कुरा अमेरिकाको हो । सर्वसाधारणको समेत चाहनाअनुसार सरकारले शतप्रतिशत काम र कोसिस गरेको हो ।’
उनले सन्दीपलाई दोस्रो पटक पनि भिसा नदिँदा अमेरिकाले कुनै कारण नखुलाएको बताए । ‘अमेरिकाले किन भिसा दिएन, के कारण थियो, कस्तो कुरामा भिसा नदिएको हो केही खुलेको छैन । बिहान मैले टियुको मैदानमा सन्दीपसँग कुरा गरेको थिएँ । उनी खेल्नका लागि पूर्ण तयारी अवस्थामा थिए’, उनले भने, ‘भिसा दिने-नदिने भन्ने कुरा हामीले कसरी निर्णय गर्न सक्थ्यौँ । मैले बिदाको दिन पनि काम गरेर युवा तथा खेलकुद मन्त्रालयबाट फाइल अगाडि बढाइदिएर परराष्ट्रमा पठाएँ । परराष्ट्रमन्त्रीले पनि यसअगाडिको बैठकमा भिसाबारे पहल गरेको जानकारी दिनु भएको थियो ।’
श्रेष्ठले परराष्ट्रमन्त्री श्रेष्ठले अमेरिकी दूतावासमा फोन गरेर भिसाबारे कुरा गरेको जानकारी दिए । ‘अमेरिकी दूतावासमा परराष्ट्रमन्त्रीले भनेको हो । यसमा अझ प्रधानमन्त्रीले पनि पहल गर्नु भएको हो । प्राविधिक र कानुनी कुराबारे अमेरिकालाई थाहा होला’, उनले भने, ‘यदि व्यक्तिगत आचरणको कुरा हो भने अमेरिकालाई थाहा होला, हामीले केही भन्न मिल्दैन। नेपालले आफ्नो कूटनीतिक मर्यादालाई कायम गर्दै सक्दो कोसिस गरेको हो ।’
मन्त्री श्रेष्ठले यसबारेमा औपचारिक रुपमा अमेरिकाको धारणा नआएसम्म केही बोल्न नसकिने बताए । ‘यसमा गुनासो गर्ने भन्दा पनि मैले आफ्नोतर्फबाट सक्दो कोसिस गरेँ। सन्दीपले पनि विश्वकपमा खेल्न सबै किसिमको तयारी गरेका थिए’, उनले भने, ‘उनी निरन्तर अभ्यास गरिरहेका थिए । एउटा खेलाडीका लागि विश्वकप अवसरको कुरा पनि हो । तर उनले भिसा नपाउँदा हामीलाई दु:ख लागेको छ ।’
उसो त अमेरिकाले बलात्कार सम्बन्धि कसुरलाई फरक ढंगले हेर्ने गरेको छ। सन्दिप माथिल्लो अदालतबाट सफाई पाएका व्यक्ति हुँदै होइनन्। महान्यायाधिवक्ताको कार्यालयले उच्च अदालतको फैसलाको पूर्णपाठ आएपछि सर्वोच्चमा पुनरावेदन गर्दैछ। अर्कातिर पिडित युवती र केही अधिकारवादीले भारतीय दूतावासमा सन्दीप बाट पिडित भएको भन्दै इमेल गर्नाले पनि उनलाई अमेरिकाले भिसा नदिएको हो।