सोसल मिडिया
युनिकोड
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि ल्याएको बजेटको प्रशंसा गरेका छन् । आज (शुक्रबार) ‘देवशंकर पौडेलको लिखुसँग आत्मसमर्पण’ पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उनले बजेटमा कृषिका सन्दर्भमा समेटिएका कुराहरु आफूलाई साह्रै मन परेको बताएका हुन् । बजेटले कृषिलाई नेपाको अर्थतन्त्रको आधारशीलाको रुपमा ग्रहण गरेको उनको भनाइ छ ।
उनले भने, ‘अहिले मैले बजेटको एउटा पक्ष देखेँ । कृषिको सन्दर्भमा ल्याइएका योजनाहरु मलाई साह्रै मन पर्यो । कृषिलाई नेपालको अर्थतन्त्रको आधारशीलाको रुपमा लिनुपर्ने र त्यस रुपमा नै अगाडि सारेको देख्दाखेरी मलाई धन्यवाद दिन पनि मन लाग्यो,’– उनले भने ।
साथै, आफूहरु नेपालको राजनीति सहज ढंगले अगाडि बढोस् भन्ने पक्षमा रहेको बताए । उनले राजनीति सहज ढंगले अगाडि बढ्नका लागि महत्वपूर्ण जिम्मेवारी प्राप्त गरेका व्यक्तिहरुले राजनीतिको केन्द्रविन्दु राष्ट्रलाई र जनतालाई राख्नुपर्ने बताए । राज्यको साधन स्रोत त्यही हिसाबले प्राथमिकीकरण गरेर सोहीअनुसार जनताको पीडा र वेदनालाई सम्बोधन गनुपर्ने उनको सुझाव छ ।
साथै, अहिले भ्रष्टीकरणका कारण राजनीति बिग्रिएको उनको दाबी छ । उनले नेतादेखि कार्यकर्ताहरु भ्रष्टाचारमा लागेको र समाज विकृति र विसंगतिमा फसेको भन्दै चिन्ता व्यक्त गरे । ‘अहिलेको राजनीतिमा सबैभन्दा बिग्रिएको पक्ष भनेको भ्रष्टीकरण हो । नेताहरु पनि बिग्रिएका छन्, भ्रष्टाचारले । कार्यकताहरु पनि बिग्रिएका छन्, भ्रष्टाचारले । देश पनि बिग्रिएको छ, भ्रष्टाचारले । समाज विकृति र विसंगतिले बिग्रिएको छ,’– उनले भने ।