थर्काएर सुनतस्करी गर्दै आएका थर्कमानलाई प्रहरीले पार्यो कर्याप्पै

शुक्रबार, जेठ १८, २०८१

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ६१ किलोभन्दा बढी सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा थर्कमान लामालाई पक्राउ गरेको छ । काभ्रेको तेमाल गाउँपालिकाका स्थायी ठेगाना भएका ४५ वर्षिय लामालाई सीआईबीको टोलीले लाजिम्पाटबाट पक्राउ गरेको हो ।

सुन तस्करी प्रकरणमा लामाको भूमिका पनि शंकास्पद देखिएकाले अनुसन्धानका लागि पक्राउ गरिएको सीआईबीले बताएको छ । गत २०८० साउनमा राजश्व अनुसन्धान विभागले भन्सार पास भएर बाहिरिएको अवैध सुन बरामद गरेको थियो ।

उक्त सुन तस्करी प्रकरण अध्ययन गर्न पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा सुन तस्करी जाँचबुझ आयोग गठन भएको थियो । उक्त आयोगले अनुसन्धानका क्रममा भएका त्रुटी औंल्याउँदै थप अनुसन्धान अगाडि बढाउन सिफारिस गरेको थियो ।

सीआईबीले उक्त आयोगका सिफारिसको आधारमा दोस्रो चरणको अनुसन्धान सुरु गरेको छ । लामा पनि सोही जाँचबुझ आयोगबाट पोलिएर उक्त प्रकरणमा अनुसन्धानका लागि तानिएका हुन् । उनी नेपाली कांग्रेसका नेता रहेको बुझिएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  १४:१५
प्रतिक्रिया दिनुहोस्