सोसल मिडिया
युनिकोड
नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठकमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको दौडधुपबारे चर्चा भएको छ । सांसदहरुले अध्यक्ष नेपालको दौडधुपका बारेमा चासो राखेका थिए ।
माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सांसदहरुले राखेको चासोलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूलाई सोधेरै देउवा निवास बुढानिलकण्ठ गएको बताए । प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीकै कारण सत्ता समीकरणमा कुनै समस्या नआउने समेत विश्वास दिलाए ।
एकीकृत समाजवादीका अध्यक्ष नेपाल गत बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा पुगेका थिए । सोही दिन विपक्षी गठबन्धन दलका नेताहरुले पनि देउवासँग भेटवार्ता र छलफल गरेका थिए । अध्यक्ष नेपाल पनि विपक्षी गठबन्धन दलको बैठकमा सहभागी भएको भनेर समाचारहरु आएपछि सत्ता समीकरणमा सहभागी दलहरुबीच तरङ्ग पैदा भएको थियो ।
प्रधानमन्त्री प्रचण्डको उक्त ब्रिफिङलाई पुष्टि गर्नेगरी एकीकृत समाजवादी संसदीय दलका प्रमुख सचेतक मेटमणि चौधरीले समेत अभिव्यक्ति दिइसकेका छन् । चौधरीले देउवा अस्वस्थ भएको थाहा पाएपछि अध्यक्ष नेपाल र आफू भेट्न गएको बताइसकेका छन् ।