सोसल मिडिया
युनिकोड
जनता समाजवादी पार्टी (जसपा) नेपाल एकाएक विभाजन भएपछि मधेश प्रदेश सरकार यतिबेला संकटमा छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएका कारण जसपा नेपालका सरोजकुमार यादव नेतृत्वको मधेश प्रदेश सरकार अल्पमतमा परेको छ ।
यादवलाई दिएको समर्थन फिर्ता लिएर केन्द्रीय सत्ता गठबन्धनले मधेश प्रदेशमा नयाँ सरकार गठनको कसरत गरिरहेको छ । सत्ता गठबन्धनको कसरतबीच प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस जसपा नेतृत्वको मौजुदा सरकार टिकाउने कोसिमा छ । सत्तारुढ माओवादी केन्द्र र एमालेले सरकार छाडेपछि अल्पमतको मधेश प्रदेश सरकारलाई नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को सहयोगमा टिकाउने प्रयास कांग्रेसको छ ।
मुख्यमन्त्री सरोजकुमार यादवले जेठ २३ गते विश्वासको मत लिने तयारी गरेका छन् । गत वैशाख ३० मा एमाले र माओवादीले सरकार छाड्दै समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री यादवले जेठ २९ सम्म विश्वासको मत लिइसक्नु पर्छ ।
मुख्यमन्त्री यादवले यसपटक ४ दललाई समेटेर आफ्नो नेतृत्वको सरकार जोगाउने रणनीति बनाएका छन् । उनले जसपा नेपालसहित कांग्रेस, लोसपा, एकीकृत समाजवादीलाई समेटेर विश्वासको मत लिने तयारी गरेका छन् ।
यी चार दलले मुख्यमन्त्री यादवलाई समर्थन गरे सहजै विश्वासको मत पाउन सक्छन् । प्रदेश सभामा जसपाका १९, कांग्रेसका २२, लोसपाका ८ र एकीकृत समाजवादीका ७ जना सांसद छन् ।
तर, संघीय सत्ता गठबन्धन र मधेश प्रदेशको गठबन्धनमा आफूलाई एकसाथ अगाडि बढाइरहेको एकीकृत समाजवादी र प्रतिपक्षमा रहेको लोसपाले सहजै मुख्यमन्त्री यादवलाई समर्थन गर्ने अवस्था भने देखिँदैन ।
स्रोतका अनुसार लोसपा संघीय सत्ता गठबन्धन र जसपा नेतृत्वमा रहेको प्रदेश सरकार कसैलाई पनि समर्थन नगर्ने मनस्थिति बनाएर बसेको छ ।
लोसपा महासचिव मनिष मिश्र अहिलेको केन्द्रीय गठबन्धनसँग कुनै सहमति नभएको बताउँछन् । ‘कुनै सहमति भएको होइन, न कुनै सल्लाह भएको हो । डा. सीके राउतले अध्यक्ष महन्थ ठाकुरलाई भेटेको हो । केन्द्रमा हामी अहिलेसम्म विपक्षी गठबन्धनमा छौँ ।’
उनले बिहीबार तीन दलले जारी गरेको विज्ञप्तिमा आफूहरुको कुनै सहमति नभएको बताए । ‘हामी त्यो विज्ञप्तिअनुसार नयाँ गठबन्धनमा गएका छैनौँ’, उनले भने, ‘लेनदेन त्यस्तो केही भएको छैन । पार्टी कार्यालयमा आएर सहयोगको प्रस्ताव गरेको हो । तर हामीले कुनै निर्णय गरेका छैनौँ ।’
कांग्रेसका मधेश प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादव भने वर्तमान सरकार टिकाएर अघि बढ्ने अथवा नयाँ सरकार गठन गर्ने भन्ने विषयमा कम्युनिस्टबाहेकका दलहरुसँग छलफल जारी रहेको बताउँछन् ।