यार्सागुम्बा टिप्न गएका युवालाई कालले टिप्यो

शनिबार, जेठ १९, २०८१

दार्चुलामा यार्सागुम्बा टिप्न गएका एक युवकको भीरबाट लडेर मृत्यु भएको छ । 

जिल्लाको अपिहिमाल गाउँपालिका–३ राताभिटाका २४ वर्षीय मिलन कार्कीको भीरबाट  लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताए ।

अपिहिमाल गाउँपालिका–३ स्थित काँटै दोनथे वनमा यार्सागुम्बा खोज्ने क्रममा शुक्रवार बेलुका कार्कीको मृत्यु भएको उनले जानकारी दिए।

उता, मुगुमा पनि यार्सागुम्बा टिप्न गएका दुईजनाको लेक लागेर मृत्यु भएको छ । पाटन ठूलो कोइकिमा लेक लागेर बिरामी परेपछि उपचारका लागि मुगु गाउँ ल्याइएका छायानाथ रारा नगरपालिका– १२ शोभा गाउँका २९ वर्षीय मानबहादुर बुढा र सोही नगरपालिकाको कम्फा गाउँका शोभान बुढाको मृत्यु भएको सशस्त्र प्रहरी जवान तिलक बढुवालले मुगु गाउबाट फोनमा जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले पनि यार्सा सङ्कलनमा गएका दुई जनाको लेक लागेर मृत्यु भएको र एक जना सिकिस्त बिरामी भएको बताए । सिकिस्त बिरामी भएका कम्फा गाउँका राजबहादुर सावतलाई उपचारका निम्ति मुगुपाटनबाट मुगुगाउँतर्फ ल्याउँदै गरेको बताए ।

गत वर्ष यार्सा टिप्न पाटन पुगेका तीन जनाको हिउँ पहिरोमा परेर र एक जनाको लडेर मृत्यु भएको थियो ।

मुगुका  २४ भन्दाबढी  क्षेत्रमा यार्सा सङ्कलन गर्न मुगुमकार्मारोङ्ग गाउँपालिकाले गत वैशाख २५ गते  प्रवेश खुला  गरेको हो ।

प्रकाशित मिति: शनिबार, जेठ १९, २०८१  १५:३२
प्रतिक्रिया दिनुहोस्