सोसल मिडिया
युनिकोड
प्रचण्ड सरकारको मुख्य बलो नेकपा एमालेका अध्यक्ष केपी ओली सरकारले ल्याएको बजेट प्रति भित्रैदेखि खुसी छैनन्। बजेटले उत्रो उमङ्ग नदिएको कुरा ओलीले आफू जन्मिएकै बार शनिवार आफ्ना सांसदलाई वरिपरि राखेर सुनाए।
ओलीले सत्तारूढ दलहरूसँग परामर्श नगरी बजेट ल्याइएको भन्दै असन्तुष्टि जनाए । संसद् भवनको ल्होत्से हलमा आयोजित पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले छलफल नहुँदा यो अर्थमन्त्रीको बजेट हो कि, अर्थमन्त्री भएको पार्टीको बजेट हो थाहा नभएको बताए ।
उनले भने, ‘दलहरूसँग छलफल नहुँदा यो अर्थमन्त्रीको बजेट हो कि, अर्थमन्त्री भएको पार्टीको बजेट हो की ? जस्तो अलि बढ्ता देखिन गएको छ। र रकमको बाँडफाँड पनि त्यस्तै गरेर अलि बढी एकातिर ढल्किएको खालको जस्तो देखिन्छ।’
उनले सरकारमा सहभागी दलहरूसँग परामर्श गरेर छलफल गरेर बजेट आएको भए धेरै राम्रो हुने समेत बताए ।
उनले अर्थमन्त्री वर्षमान पुनले माओवादी केन्द्रप्रति ढल्किएको बजेट ल्याएको समेत दाबी गरे । संसद्मा आइतबार देखि आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुँदैछ। तर ओलीले आफ्नो पार्टीले यो बजेटलाई समर्थन गरेर पारित गर्ने समेत बताए ।
ओलीले भने, ‘एउटा चाहिँ हामीमा कुनै दुबिधा हुनुहुँदैन– यस बजेटलाई हामी समर्थन गर्छौँ । र पारित गर्छौँ। यसको मतलब बजेटमा रहेका कुनै कमी पनि औँल्याउन हुँदैन भन्ने होइन।’
पछिल्ला दिनमा ओली र प्रचण्ड बीच उति विधि कुरा मिलेकै छैन। प्रचण्ड ओली संग छुट्टिने उपयुक्त अवसरको खोजीमा छन्। आफू संगको बसाई प्रचण्डलाई असहज भएको ओलीले नबुझ्ने कुरै भएन। त्यसैको संकेत आज ओलीले गरेको हुन सक्ने एमालेकै एक नेताले बताए। कांग्रेस संग प्रचण्डको धेरै कुरा मिलेको र त्यो देखिन साउन सम्म कुर्नु पर्ने ती नेताले बताए।