सोसल मिडिया
युनिकोड
सत्तारुढ प्रमुख घटक नेकपा एमालेले अर्थमन्त्री आफैँले चुनौती सामना गर्ने अठोट गरेको बताएको छ। आर्थिक वर्ष २०८१।०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै एमाले उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले यस्तो बताएका हुन्।
शुरुमै बजेट पारितका लागि दृढ समर्थन जनाउँदै उनले बजेट छरितो र सन्तुलित भएको पनि बताए।
‘बजेटमा केही राम्रा कुरा छन्। बजेट संक्षिप्तमा आएको छ। विगतमा घण्टौँ बजेट सुन्नुपर्ने विगतको परम्परालाई तोड्दै छोटो बजेट ल्याउनु राम्रै कुरा हो। बजेट सन्तुलित पनि छ। बाहिर मानिसहरूले चर्चा, आंशका र अनुमान गरेजस्तो निकै ठूलो आकार पनि होइन’, उनले भने, ‘समग्र बजेट मत्त्वाकांक्षी होइन, उच्च आकांक्षी छ, यो अर्थमन्त्रीले आफैँले चुनौती सिर्जना गर्ने र त्यो सामना गर्ने अठोट गर्ने बाटो बजेटमार्फत रोज्नुभएको छ। यो एप्रोचलाई म राम्रो मान्छु।’
अर्थमन्त्रीले बजेटमार्फत लिएका लक्ष्य चुनौतीपूर्ण रहेको तर मेहनतका साथ लागिपरे असम्भव पनि नरहेको पनि पौडेलले औंल्याए। ‘अहिले जेठ १६ सम्म ८ खर्ब ६७ अर्ब करिब राजस्व उठेको छ, चालू वर्षभित्र ११ खर्ब उठ्ला तर आवका लागि १२ खर्ब ६० अर्बको लक्ष्य निर्धारण गर्नुभएको छ, यो लक्ष्य सजिलो छैन। तर साँच्चै मेहनतका साथ लाग्ने हो भने यो असम्भव पनि छैन। यो मानेमा यो सही छ’, उनले थपे, ‘आगामी आवका लागि ५२ अर्ब वैदेशिक सहायता परिचलान गर्ने लक्ष्य छ। यो पनि मेहनतका साथ लक्ष्य भेटाउने गरी निर्धारण गरिएको पाइन्छ।’
पौडेलले बजेटबारे आफूहरूसँग परामर्श नगरेको विषयमा भने गुनासो गरे। ‘बजेट बनाउने बेला व्यस्त भइन्छ‚ यति धेरै व्यस्त हुनुभएछ कि आफ्नै साझेदारहरूसँग बजेटबारे छलफल गर्न भ्याउनुभएन। छलफल गर्नुभएको भए राम्रो हुन्थ्यो’‚ व्यंग्यात्मक शैलीमा उनले भने।