सिआईबीको फन्दामा परे लाईसेन्स काण्डका हरिश, क-कसलाई लाग्दैछ अब खाएको विष ?

शनिबार, वैशाख १५, २०८१

बहुचर्चित स्मार्ट लाइसेन्स घोटाला प्रकरणलाई निफन्ने काम दिनानुदिन भई रहेको छ। यसै मेसोमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले यातायात व्यवस्था विभागका करारका इन्जिनियर हरिश भट्टलाई आज बिहानै नियन्त्रणमा लिएको छ। 

चोरबाटो प्रयोग गरेर लाइसेन्स प्रिन्ट गरेको प्रमाण फेला परेपछि उनी चर्को निगरानीमा थिए। उनको धन्धा थाहा पाएरै यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले इन्जिनियर भट्टको करार अवधि थपेका थिएनन्। करारको कर्मचारी भएपनि उनको सक्रियता भने महानिर्देशकको भन्दा चर्को थियो। 

उनले करार अवधि नथपिए पनि लाइसेन्स छपाईको काममा सक्रियता देखाएकै थिए। महानिर्देशकलाई ठाउँ-ठाउँ बाट म्याद थप्न लगाउन दबाब दिनु उनको दैनिकी बनेको थियो तर आज बाट उनको त्यो दैनिकीमा बदलाब आएको छ। उनी यसअघि पनि काण्डमा मुछिएर उम्केका व्यक्ति हुन्। 

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकको काखी च्यपाईमा परेका उनले उनैको आडमा गोराखाधन्धा चलाउँदै आएका थिए। सिआईबीले भट्टलाई नियन्त्रणमा लिएपछि लाईसेन्स काण्डमा जोडिएका अघिल्ला महानिर्देशकहरूको सातो गएको छ। गिरोहका वरिष्ठ सदस्यहरू  कम्प्युटर इन्जिनियर सुरज प्रकाश अर्याल,भानु जोशी, लक्ष्मण पाण्डे, केशव पाण्डेलगायतको भागाभाग भएको श्रोतको दाबी छ । 

प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  १३:३३
प्रतिक्रिया दिनुहोस्