सोसल मिडिया
युनिकोड
उपरी माथि थुपरी भन्ने भनाईको ओजन कति छ भन्ने कुराको महसुस नेपाल सरकारका एक थान उपसचिवलाई बाहेक सायद अरुले नगरेका होलान्। निजामति सेवामा डन उपसचिवको परिचय बनाएका तिनै चल्तापूर्जाको यतिबेला चारवटा डोरीले हातखुट्टा बाँधिएको छ। अर्थात उनीको थाप्लोमा भ्रष्टाचार गरेको अभियोगका चार मुद्दा दायर भएका छन्।
रोजी-रोजी र लाइन मिलाएर चाँदी काट्न उनी जुन-जुन अड्डा पुगे त्यहाँ कसुर गरेको प्रमाण फेला परेपछि उनी चार सुर कसाईमा परे र चारै थान मुद्दाको भारी बोकेर दिन बिताई रहेका छन्। अति सर्वत्र वर्जयेत भन्ने कुरालाई नबुझेर जहाँ पुग्यो त्यहि अति गरेपछि उनीमाथि मुद्दाको चाङ्ग लागेको उनलाई नजिक बाट चिन्ने जान्ने उपसचिव नै बताउछन्।
ललितपुरको गोदावरीदेखि बाराको सिम्रौनगढसम्म प्रमुख प्रशासकीय अधिकृत हुँदा भ्रष्टाचार गरेको अभियोगमा मुद्दा चलाईएका उपसचिव अरु कोहि नभएर स्याङ्जा घर भएका विश्वराज मरासिनी हुन्। काठमाडौं, ललितपुर र भक्तपुरका मालदार स्थानीय तह चलाएका उनीविरुद्ध अखियारले सोमबारको साईत निकालेरै भ्रष्टाचारको चौथो मुद्दा दायर गरेको छ।
अख्तियारले ललितपुरको गोदावरी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा लेले र नल्लुको नदी तथा खानीजन्य वस्तुका ढुंगा, गिट्टीलगायत उत्खननका लागि सरकारी दररेट कम गरी ठेक्का दिई भ्रष्टाचार गरेको अभियोगमा मेयर गजेन्द्रबहादुर महर्जन, उपमेयर मुना अधिकारी र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मरासिनीसहितलाई मुद्दा दायर गरेको हो । मरासिनीसहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती, कृष्णप्रसाद जैसी र प्रवीन कोइराला समेत भ्रष्टाचारमा डामिएका छन् । मरासिनीलाई विस्थापित गरेर जैसी गोदावरी पुगेका थिए । अर्का डन भनेर चिनिने भारती ललितपुर महानगर बाट केही समय अघि मात्र सरुवा भएर अन्तै पुगेका छन्। भारतीको पनि अर्को एक मुद्दा दायर हुने बुझिएको छ।
सिम्रौनगढ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा ३ वटा भ्रष्टाचारको मुद्दा खेपेका मरासिनीले गोदावरीमा समेत फेला परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले १ अर्ब ५ करोड बिगो दाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको हो । मरासिनी बाराको सिम्रौनगढ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा माछापोखरी निर्माणको ठेक्का भ्रष्टाचारी ठहर भएका छन् । टेकनारायण कुवँर, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले मरासिनीलाई ६ महिना कैद र ४ लाख ६१ हजार २ सय ५० रुपैयाँ जरिवाना हुने फैसला गरेको छ ।
मरासिनी भ्रष्टाचारी ठहर भएको ६ महिना नपुग्दै अर्को भ्रष्टाचारको मुद्दा दायर भएको हो । सिम्रौनगढमा २ लाख रुपैयाँको सफ्टवेयर खरिद गरेर बदनियतपूर्वक प्रयोग नगरेको भनेर उनीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको थियो । यद्यपि उक्त मुद्दामा उनले सफाइ पाइसकेका छन् । सिम्रौनगढ-८ कचोर्वास्थित जनता माविको भवन निर्माणबापतको रकम उपभोक्ता समितिलाई दिने क्रममा अनियमितता गरेको आरोपमा अख्तियारले मरासिनीविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । ललितपुरको गोदावरीमा हुँदा मरासिनीविरुद्ध हालेको यो चौथो मुद्दा हो ।
धादिङको बुढानिलकण्ठ नगरपालिका, ललितपुरको गोदावरी नगरपालिका, भक्तपुरको थिमी नगरपालिका, काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका र बाराको सिम्रौनगढ नगरपालिकासम्म चलाएर उनी अछामको प्रमुख जिल्ला अधिकारी भएर गएका थिए । सिम्रौनगढमै हुँदा ३ वटा भ्रष्टाचारको मुद्दा खेपेका भ्रष्टाचारी मरासिनीको भागमा चौथो मुद्दा आइपरेको छ । अझ्, काठमाडौं, भक्तपुर र काभ्रेसम्म पुग्दा दोब्बर हुने सम्भावना रहेको अख्तियार कै अधिकारीहरु बताउँछन् । स्थानीय तह हल्लाएर बसेका मरासिनी अन्ततः आफै हल्लिएका छन् ।
अख्तियारको उच्च श्रोतका अनुसार मरासिनी विरुद्द अब थप दुई मुद्दा दायर हुँदैछन्। जहाँ उनले हस्ताक्षर गरे त्यहि कसुर भेटेपछि उनी बिरुद्द अख्तियार आकारम भएर लागेको हो। अहिले एउटा अलग्गै युनिट मरासिनीले जागिर खाएदेखिको गडबडी केलाएर बसेको छ।