विश्वासको मत लिनु भन्दा केही घण्टा अघि मात्र मधेशका मुख्यमन्त्रीलाई के रोग लाग्यो ?

बुधबार, जेठ २३, २०८१

आज विश्वासको मत लिन मधेस प्रदेश सभाको बैठक डाकिएको थियो। तर एकाएका मुख्यमन्त्री सरोजकुमार यादव बिरामी भए पनि विश्वासको मत लिने विषय पेचिलो बनेको छ। 

आफू सिकिस्त बिरामी परेको भन्दै उनले विश्वासको मतसम्बन्धी कार्यसूची सार्न सभामुख रामचन्द्र मण्डलकहाँ पत्र पठाएका छन् ।

प्रदेशसभाको बैठक आजै दिउँसो ३ बजे बस्ने गरी डाकिएको थियो। बैठकको कार्यसूचीबाट विश्वासको मत लिने कार्यक्रम हटाइदिन भन्दै मुख्यमन्त्रीले पत्र पठाएका हुन् ।

मुख्यमन्त्री यादवको पत्र आएपछि सर्वदलीय बैठक बोलाइएको मधेश प्रदेशसभाका सूचना अधिकारी चन्दनकुमार ठाकुरले बताएका छन्। 
‘सभामुखकहाँ मुख्यमन्त्रीको निवेदन आएको छ’, उनले भने, ‘मुख्यमन्त्रीले विश्वासको मतको कार्यक्रम कार्यसूचीबाट हटाउन निवेदन दिएपछि अहिले सर्वदलीय बैठक डाकिएको छ ।’

मुख्यमन्त्री यादवले बुधबारको बैठकबाट विश्वासको मतसम्बन्धी कार्यसूची हटाएर आगामी जेठ २८ गतेका लागि तोक्न सभामुख मण्डललाई भनेका छन् ।

उनले निवेदनमा आफू अस्वस्थ रहेको बताएका छन् । माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले आफ्ना दुई मन्त्रीलाई मंगलबार साँझ सरकारबाट फिर्ता बोलाइसकेपछि मुख्यमन्त्री यादवको संकट बढेको छ ।

जसपासमेत विभाजित भएको अवस्थामा एकीकृत समाजवादीले पनि सरकारबाट फिर्ता हुने निर्णय गरेसँगै उनले विश्वासको मत पाउने छैनन्। एकीकृत समाजवादी अब मधेसमा पनि केन्द्रको सत्ता गठबन्धनसँगै जोडिने छ ।

१०७ सदस्यीय मधेस प्रदेश सभामा २५ प्रदेश सांसदसहित एमाले पहिलो दलका रुपमा छ । प्रदेश सभामा कांग्रेसका २२, जसपा नेपालका १९, जनमतका १३, लोकतान्त्रिक समाजवादीका ८, माओवादीका ९ र एकीकृत समाजवादीका ७ सदस्य छन् ।

लोसपाका ९ मध्ये १ जना सांसद अभिराम शर्मा निलम्बित छन् । उनी संसदीय दलको नेता हुँदै असई थमन विक हत्या प्रकरणमा अदालतबाट दोषी पाइएपछि निलम्बित भएका हुन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति र नेपाल संघीय समाजवादीका पनि मधेस प्रदेश सभामा १–१ जना सांसद छन् ।

१०७ सदस्यीय मधेस प्रदेश सभामा सरकार बनाउन ५४ सांसदको समर्थन चाहिन्छ । त्यसमध्ये एमालेका रामचन्द्र मण्डल अहिले सभामुख छन् । त्यसबाहेक ४६ सांसद रहेको तीन दलीय गठबन्धनलाई सरकार बनाउन थप ८ जना चाहिन्छ ।

यस्तोमा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका ७ जना सांसद छन् । एकीकृत समाजवादीले केन्द्रीय गठबन्धन अनुसार तीन दललाई समर्थन गर्दा यो संख्या ५३ पुगेको छ । सरकारका लागि केन्द्रको सत्ता गठबन्धनलाई मधेसमा अझै १ सांसद पुग्दैन। लोसपालाई प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीले चारो हालेपनि उसले अहिले सम्म यसै भनिसकेको छैन। 

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  १३:३५
प्रतिक्रिया दिनुहोस्