सोसल मिडिया
युनिकोड
नेपाली सेनाको अगुवाइमा सञ्चालित ‘सफा हिमाल अभियान’बाट पाँच वर्षको अवधिमा सर्वोच्च शिखर सगरमाथासहित प्रमुख हिमालबाट १२ शव र एक सय आठ मेट्रिकटन फोहर सङ्कलन गरिएको छ।
नेपालमा रहेका हिमालको स्वच्छता कायम राख्ने उद्देश्यले सन् २०१९ देखि सुरु भएको अभियानका क्रममा हालसम्म चारवटा अस्थिरपञ्जर सङ्कलन गरिएको सेनाले जनाएको छ।
सन् २०२४ मा सञ्चालित अभियानअन्तर्गत विभिन्न हिमालबाट ११ मेट्रिकटन फोहर, चारवटा शव तथा एउटा अस्थिरपञ्जर सङ्कलन तथा व्यवस्थापन गरिएको छ।
सगरमाथा, ल्होत्से र नुप्से हिमालका विभिन्न स्थानबाट दुई हजार दुई सय २६ किलो कुहिने र आठ हजार सात सय ७४ किलो नकुहिने गरी कूल ११ हजार किलोग्राम फोहर सङ्कलन गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका निर्देशक सहायक रथी सञ्जय देउजाले जानकारी दिए.
कुहिने फोहरलाई स्थानीय तहसँगको सहकार्यमा नाम्चे इलाकामा सगरमाथा प्रदूषण नियन्त्रण समितिलाई हस्तान्तरण गरी व्यवस्थापन गरिएको छ।
नकुहिने फोहरलाई काठमाडौँ ल्याई पुनःप्रयोग गर्ने कम्पनीलाई हस्तान्तरण गरिएको छ। यस वर्षको सफाइ अभियानमा सगरमाथा, ल्होत्से र नुप्से हिमालका आधार शिविर र सोभन्दा माथिका स्थानबाट १० मेट्रिकटन फोहर र पाँचवटा शव सङ्कलन गर्ने लक्ष्य लिइएको थियो।
सफाइ टोलीले सगरमाथा हिमालको क्याम्प–३ देखि क्याम्प–४ (बालकुने इलाका) बाट तीन शव, ल्होत्से हिमालको चुचुरो नजिकबाट एक शव र खुम्बु आइसफल इलाकाबाट एकवटा मानव अस्थिरपञ्जर सङ्कलन गरेको छ।
सङ्कलित मानवशव तथा अस्थिरपञ्जर आवश्यक कानुनी प्रक्रियापश्चात् व्यवस्थापनका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बुझाइएको सेनाले जनाएको छ।
हिमालमा बेवारिसे अवस्थामा रहेका शव सङ्कलन निकै चुनौतीपूर्ण मानिन्छ। गत चैत १९ गते सफाइ टोलीले काम थालेको थियो। ५५ दिनको प्रयासपछि उक्त फोहर, शव र अस्थिरपञ्जर सङ्कलन गरिएको हो।
यस अभियानमा सेनानी आदित्य कार्कीको नेतृत्वमा १० सैन्य जनशक्ति र १८ जना शेर्पा सहयोगीका साथै अन्य आरोही दलका सदस्य प्रत्यक्ष संलग्न रहेका थिए । सफाइ टोलीले सगरमाथाको सफल आरोहणसमेत गरेको थियो।
सन् २०१९ मा सञ्चालित अभियानबाट सफाइ टोलीले सगरमाथा र ल्होत्से हिमालबाट १० दशमलव छ मेट्रिकटन फोहर र चारवटा शव सङ्कलन गरेको थियो।
विश्वव्यापी कोरोना महामारीका कारण सन् २०२० मा अभियान सञ्चालन गरिएको थिएन । सन् २०२१ मा विभिन्न छ हिमालबाट २७ दशमलव ६ मेट्रिकटन फोहर, चारवटा शव र एकवटा अस्थिरपञ्जर तथा सन् २०२२ मा चार हिमालबाट ३३ दशमवल आठ मेट्रिकटन फोहर सङ्कलन गरिएको थियो ।
सन् २०२३ मा सफाइ टोलीले सगरमाथा, ल्होत्से, बरुञ्चे र अन्नपूर्ण हिमालबाट ३५ दशमलव सात मेट्रिकटन फोहर सङ्कलन गरेको थियो । हिमालमा रहेका फोहर हटाउनका लागि सेनाले सन् २०१९ देखि सफा हिमाल अभियान सञ्चालन गर्दै आइरहेको छ ।
विश्व वातावरण दिवसका अवसर पारेर सेनाले आज जङ्गी अड्डामा विशेष कार्यक्रम गरी यस वर्ष सञ्चालन गरिएको सफा हिमाल अभियानको समापन गरेको छ।