सोसल मिडिया
युनिकोड
भारतीय जनता पार्टी (भाजपा)का नेता नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने तारतम्य मिलाईरहेका छन्। उनले राजीनामा दिएर कामचलाउ सरकारको हैसियतमा शासन गरिरहेका छन्।
नेसनल डेमोक्र्याटिक एलायन्स (एनडीए) संसदीय दलको नेता बनेर मोदीले सरकारका लागि दाबी पेस गर्ने तयारी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
दलको नेता बन्नका निम्ति एनडीएमा आबद्ध दलका नेताको बैठक शुक्रबार (भोलि) बस्दै छ । बैठकबाट मोदीलाई एनडीए संसदीय दलको नेता चयन गरिने र उनले सरकार बनाउन राष्ट्रपतिसमक्ष दाबी पेस गर्ने आजतकले जनाएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार, मोदीले आउँदो शनिबार (जुन ८)मा तेस्रो कार्यकालका निम्ति प्रधानमन्त्री पदको शपथ लिने सम्भावना छ । तर टुंगो भने छैन।
उक्त शपथ समारोहबारे नेपाललाई औपचारिक जानकारी गराइएको छैन । नयाँ सरकार बनाउन राष्ट्रपतिसमक्ष दाबी, नियुक्तिको प्रक्रिया नै बाँकी छ । सोही कारण शपथको मिति पनि टुंगो लाग्न बाँकी छ ।
शपथको मिति तय हुन बाँकी रहेकाले औपचारिक रूपमा निमन्त्रणा पनि नगरिएको परराष्ट्र मन्त्रालय स्रोतको बुझाइ छ । शपथ समारोहमा नेपालबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुने सम्भावना छ । तर प्रधानमन्त्रीको सचिवालयले भने शनिबार भारतका प्रधानमन्त्रीले सपथ लिने र नेपालका प्रधानमन्त्री प्रचण्ड सहभागी हुने सूचना चुहाई सकेका छन्। निम्तो आउने नआउने एकिन नहुँदै प्रचण्डलाई भारत पुर्याई सकिएको छ।