सोसल मिडिया
युनिकोड
२०७४ सालको स्थानीय तहको निर्वाचनमा सप्तरीको तिलाठी कोइलारी गाउँपालिकाको अध्यक्षमा तत्कालीन राजपा (पछि लोसपा) बाट निर्वाचित शतीसकुमार सिंह मधेस प्रदेशको मुख्यमन्त्री बन्ने भएका छन् । दोश्रो कार्यकालका लागि पालिका अध्यक्षमा पराजित भएपछि उनी गत वर्षको प्रदेश सभा निर्वाचनको मुखैमा जनमत पार्टी प्रवेश गर्दै प्रदेशसभामा निर्वाचित भएका सिंहलाई मुख्यमन्त्री आईलागेको हो।
सप्तरी २ को (ख) बाट भारी मतले निर्वाचित भएका उनलाई पार्टी अध्यक्ष सिके राउतले मुख्यमन्त्री छानेका हुन् । उनी प्रदेश सभामा अर्थ समिति सभापति पनि छन्। मुख्यमन्त्री भए सङ्गै सभापति गुमाएका छन् ।
जनमत पार्टीको प्रदेश संसदीय दल नेतामा महेशप्रसाद यादव छन्।
संविधानको धारा १६८ (२) मा प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने प्रावधान रहेकाले सोही व्यवस्थाअनुसार सिंहले नेतृत्व पाउन लागेका हुन्।
जनमतले मधेशको नेतृत्व पाउन लागेपछि महेशसँगै केन्द्रका महामन्त्री रहेका चन्दन सिंहले पनि मुख्यमन्त्रीमा आकांक्षा राखेका थिए । तर, दुवैलाई पन्छाएर उनले मुख्यमन्त्रीमा बाजी मारेका छन् । शतीस जनमतमा भएपनि उनका बावु शेखरकुमार सिंह लोसपामै छन् । उनी हाल लोसपाबाटै राष्ट्रिय सभामा सांसदसमेत छन् । आफ्नै बावुलाई जनमतमा ल्याउन नसकेको आरोप खेप्दै आएका उनी अन्तत आकांक्षीलाई पन्छाउन सफल भएका छन् । उनले आजै पद तथा गोपनीयताको शपथ लिनेछन् ।
बुधवार राति प्रदेश प्रमुख सुमित्रा भण्डारीले बहुमतको सरकार गठनका लागि दलहरूलाई शुक्रबार बिहान १० बजेसम्मको समय दिएर आह्वान गरेकी थिइन् ।