संसद मार्फत सरकारलाई तातो लाग्ने गरि कांग्रेसका सांसदले राखे यस्तो माग

बिहीबार, जेठ २४, २०८१

जिल्लाको विकास र जनताको जीवनस्तर उकास्न मरिहत्ते गरेर लागि पर्दै आएका नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङले बेशिसहर–चामे सडक खण्डलाई कालोपत्र गर्न सरकारसँग जोडदार माग गरेका छन् ।

आज बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै सांसद गुरुङले पर्यटनको खानी मनाङ् जाने बाटोको दुर्दशाको बेलिबिस्तार लगाए। स्वर्ग सरिको मनाङ जाने सडक ११ वर्षदेखि कालोपत्र हुन नसक्दा यात्रु र पर्यटकले समस्या भोग्नु परेको बताए । त्यसले गर्दा जिल्लाले मार खेप्नुपरेको उनले तर्क गरे।

लम्जुङ जिल्लाको सदरमुकाम बेशिसहरदेखि मनाङ जिल्लाको सदरमुकाम चामेसम्म जोड्ने ६२ किलो मिटर मुख्य सडकको नेपाली सेनाद्वारा ट्रयाक खोलेको ११ वर्ष भइसक्दा पनि कालोपत्र पूरै छोडौं ग्राभेलसमेत नभएपछि बाध्य भएर गुरुङले संसद मार्फत सरकारलाई तातो लाग्ने गरि भन्नू परेको हओ।

‘स्थानीय बासिन्दा, आन्तरिक तथा बाह्य पर्यटकहरूको लागि त्यहाँको यात्रा एकदमै जोखिमपूर्ण र कष्टकर रहेको छ’, कांग्रेसका सांसद गुरुङले भने ।

‘देशको धेरै पर्यटक भित्रिने जिल्लाहरूमध्ये एक जिल्ला मनाङ पनि हो’, गुरुङले भने, ‘मनाङ जिल्लामा टुरिजम् र जलस्रोत सम्पन्न रहेको छ ।’

उनले भने, ‘देशलाई समृद्ध बनाउने सम्पदा र स्रोतहरू रहेको पर्यटकीय हिमाली जिल्ला मनाङ जुन देशको राजधानीबाट सबैभन्दा छोटो दुरीमा हिमालीसम्म पुग्ने बेशिसहर–चामे सडक खण्डलाई यथाशीघ्र कालोपत्र गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछु ।’ गुरुङको पहलमा यसअघि मनाङ् जिल्लामा धेरै विकासका काम भएका छन् ।

प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  १३:३६
प्रतिक्रिया दिनुहोस्