सत्ता गठबन्धनका नेताको छोरी मोह, ज्वाईलाई राजदूत दाईजो

शुक्रबार, जेठ २५, २०८१

वर्तमान सत्ता गठबन्धनले ल्याएको बजेटमा ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ सञ्चालन गर्ने गरि बजेट छुट्याईएको छ। छोरीलाई सरकारले संरक्षण गर्नु र कार्यक्रमै ल्याउनु राम्रो पक्ष हो। तर सो कार्यक्रमका लागि छुट्याएको बजेट हेर्यो भने यो सस्तो लोकप्रियता र छोरीका नाममा छारो हाल्ने बाहेक अर्को उपलब्धि देखिदैन। 

हुन त प्रधानमन्त्री स्वयमले छोरीलाई धेरै च्यापेको भनेर चर्कै आलोचना हुने गरेको छ। त्यसरी आलोचना गर्ने मान्छे निम्छरा पनि छैनन्। सत्ता गठबन्धनकै सबैभन्दा ठुलो घटक नेकपा एमालेका अध्यक्ष केपी ओलीनै ऐन मौकामा प्रचण्डलाई छोरी ज्वाई पाल्नुपर्ने बाध्यताको नेता भन्दै दुत्कार्छन। हुन पनि प्रचण्डले कनिष्ठ पुत्री गङ्गा दाहाललाई स्वकीय सचिव नै बनाएका छन्। जीवित मध्येकी जेठी छोरी रेणु भरतपुरमहानगरमा दोश्रो पटक मेयर भएर काम गरिरहेकी छिन। झट्ट हेर्दा प्रचण्ड छोरीका मामिलामा उदार नै देखिन्छन। त्यहि उदारताले पगालेरै हुन सक्छ प्रचण्डले बजेटमै ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ सञ्चालन गर्ने कार्यक्रम नै राखिदिए। 

madhav-putri-dr-1717740147.png

माधव पुत्री डा. सुमन नेपाल

प्रचण्ड मात्र छोरीमा उदार देखिएनन्। सत्ता गठबन्धनका अर्का नेता माधव नेपाललाई पनि छोरी मोहले छोड्दै छोडेन। एउटा बाबुले छोरीलाई माया गर्नु उनको प्रगतिमा रमाउनु अन्यथा चाँही होइन। तर, भन्ने एउटा र गर्ने अर्कै भएपछी प्रश्न अवश्य उठ्छ। कम्युनिष्ट आदर्शको तीन भकारी गफ लगाउने नेताले छोरीलाई अपहत्ते गरेर क्रेनले नै तानेर ठाउँमा पुर्याएपछि सकलजनले यसै प्रश्न गर्ने नै भए। हो अहिले त्यस्तै प्रश्न गर्न लायक काम उनै माधवले गरेका छन्। स्वयम् उनकै पार्टीका नेताले माधव नेपाललाई प्रश्नको तगारो हालेका छन्। 

नेपालकी छोरी डा. सुमन नेपाल नेपाल मेडिकल काउन्सिलको   सदस्य नियुक्ति भएकी छिन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले डा. सुमनसहित ६ जनालाई मेडिकल काउन्सिलको सदस्यमा नियुक्त गरेको छ । 

लामो समयको प्रयासपछि माधव नेपालले छोरी डा. सुमनलाई नेपाल मेडिकल काउन्सिलको सदस्य बनाउन सफल भएका छन् । तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको पालादेखि उनले छोरीलाई नेपाल मेडिकल काउन्सिलको सदस्य बनाउने प्रयास प्रदीप यादव आएपछि सफल भएको छ । बस्नेतपछि उपेन्द्र यादव हुँदै प्रदीप यादव स्वास्थ्यमन्त्री बने । छालारोग विशेषज्ञ माधवकी छोरी डा. सुमन पनि नेपाल मेडिकल काउन्सिलको सदस्य नियुक्त भइन् ।

भारतीय दूतावासले उपलब्ध गराउने सांस्कृतिक छात्रवृत्ति (कल्चरल सिट)मा छोरी सुमनलाई माधवले डाक्टर पढाएका हुन्। सुमनले कल्चरल सिटमा नयाँदिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)बाट एमबीबीएस र एमडी गरेकी हुन् ।

उता, हिजै बसेको प्रचण्ड क्याबिनेटले कांग्रेस कोटामा नियुक्त भएका ११ राजदूतलाई फिर्ता बोलाउदा कांग्रेस सहितको सरकार हुँदै नियुक्त भएका अस्ट्रेलियाका राजदूत माधव नेपालका बहिनीज्वाइँ कैलाश पोखरेललाई भने फिर्ता बोलाएन। प्रचण्डको सत्ता गठबन्धनकै फेरो समातेर बसेका माधवले छोरी र बहिनी ज्वाईलाई राज्यको दानापानी खुवाउन सफल भएका छन्। 
 

प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  ११:४९
प्रतिक्रिया दिनुहोस्