सोसल मिडिया
युनिकोड
जनमत पार्टीका प्रदेशसभा सदस्य सतिशकुमार सिँह मधेश प्रदेशका मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा २ अनुसार मधेश प्रदेशसभामा प्रतिनिधित्व गर्ने बहुमत सदस्यको समर्थन दाबी पेश गरेपछि सिंहलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । उपेन्द्र यादवको पार्टी जसपा ७८ महिना सत्तामा बसेर विस्थापित भएपछी सतिश पहिलो पटक मुख्यमन्त्री बनेका हुन्।
जसपा नेपालको संसदीय दलका नेता सरोजकुमार यादवले मुख्यमन्त्रीका रूपमा प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि बुधबार प्रदेश प्रमुख सुवेदीले शुक्रबार १० बजेको समय सीमा तोकी संविधानको धारा १६८ को २ अनुसार मुख्यमन्त्री नियुक्ति प्रयोजनका आह्वान गरेकी थिइन् ।
सिंहको नेतृत्वमा सरकार गठनका लागि नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी, रिजवान अन्सारी नेतृत्वको संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका ५५ सदस्यको समर्थनसहित आजै बिहान दाबी पेस गरिएको छ ।
नवनियुक्त मुख्यमन्त्री सिंह को हुन् ?
बाबू राष्ट्रियसभा सदस्य, छोरो मधेश प्रदेशको मुख्यमन्त्री
मुख्यमन्त्रीमा नियुक्त सतिश सिंह सप्तरी २ को (१) बाट प्रदेशसभा निर्वाचित भएका हुन् । उनी २०७५ को स्थानीय तह निर्वाचनमा सप्तरीको तिलाठी कोइलाडीका गाउँपालिकाका अध्यक्ष निर्वाचित भएका थिए । त्यसपछि २०७९ मा भएको स्थानीय तह निर्वाचनमा सोही गाउँपालिका अध्यक्षमा पराजित भएपछि सोही वर्षको आम निर्वाचनमा जनमतको उम्मेदवार भई प्रदेशसभा सदस्य निर्वाचित भएका थिए ।
भारतीय राज्य झारखण्डस्थित राँचीको बिआइटी मिश्राबाट सूचना प्रविधिमा स्नातकोत्तर सिंह मधेश आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए । उनी लोसपाका नेता एवम् राष्ट्रियसभा सांसद शेखर सिंहका माइला पुत्र हुन् ।
सिंहले आजै १२ बजे मुख्यमन्त्रीको रूपमा सपथ ग्रहण गर्ने छन् । उनको नेतृत्वमा बन्ने सरकारमा एमाले भौतिक, शिक्षा, स्वास्थ्य र खेलकुद तथा समाज कल्याण, माओवादी केन्द्रलाई अर्थ र पर्यटन नेकपा एसलाई कृषि, उर्जा तथा सिंचाइ, १-१ सिटको नेपाल समाजवादी पार्टीलाई गृह सञ्चार तथा कानुन र नागरिक उनमुक्ति पार्टीलाई श्रम तथा यातायात मन्त्रालय दिने सहमति भएको छ ।
जसपा नेपालका सङ्घीय परिषद् अध्यक्ष रहेका अशोक राईले पार्टीका सात सङ्घीय सांसद लिएर जनता समाजवादी पार्टी गठन गरेपछि यादवले केन्द्रदेखि मधेस प्रदेशमा सत्ता गुमाउनुपरेको हो। र, जनमतले मुख्यमन्त्री पाउने सौभाग्य पनि पाएको हो।
०७४ फागुन गतेदेखि ०८१ जेठ २३ गतेसम्म २३०३ दिनसम्म मधेशको सत्तामा एकछत्र राज गरेको जसपा र त्यसकाअध्यक्ष उपेन्द्र यादवले यसपटक भने पार्टी विभाजनको चोट र सत्ताबाट बर्हिगमन एकैपटक भोग्नुपरेको छ । संघीय संसद्अन्तर्गतको प्रतिनिधि सभामा १२ सीटसहित छैटौं ठूलो दलको रुपमा स्थापित जसपा गत महिनामात्रै फुटेपछि उपेन्द्रको पार्टी नवौं दलको झरेको छ । पार्टी विभाजनपछि केन्द्रको सरकारबाट बढारिएका उनी अन्तत प्रदेश सरकारमा पनि बढारिएका छन् भने साढे ६ वर्ष लामो मधेशको एकछत्र राजको अन्त्य भएको छ ।
मधेश प्रदशको मुख्यमन्त्रीमा नियुक्त भएका सतीशकुमार सिंहका बाबु सांसद शेखरकुमार सिंहले छोरा मुख्यमन्त्रीमा नियुक्त हुनुलाई आफूले स्वाभाविक रूपमा लिएको बताएका छन्। सतिशकुमार मुख्यमन्त्रीमा नियुक्त भएपछि सांसद सिंहले संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘सांसद भएपछि मुख्यमन्त्री हुुनु स्वाभाविकै हो।’
शेखरकुमार सिंह राष्ट्रियसभा सदस्य छन्। बाबुछोराको दल भने भिन्न छ। २०७६ सालमा राष्ट्रियसभा सदस्यमा निर्वाचित सिंह लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा आबद्ध छन्।
लोसपा संघ र प्रदेश दुवै सरकारमा प्रतिपक्षमा भूमिकामा छ। राष्ट्रियसभा सांसद शेखरकुमारले आफूहरूको परिवारिक पृष्ठभूमि राजनीति रहेको बताए। उनले मुख्यमन्त्रीमा नियुक्त भएका सतिशकुमार परिवारका आठौँ सांसद भएको बताए। उनले भने, ‘सतिश परिवारको आठौँ सांसद हो। बाबुछोरालाई नै लेख्या रहेछ त म के गरुँ? मेरो अपराध हैन क्यारे!’