सोसल मिडिया
युनिकोड
पछिल्लो समय मधेशमा उदाएको जनमत पार्टी अहिले स्थापित भनिएका दललाई त्यहि मधेशमा टक्कर दिईरहेको छ। र, स्थानीय तहमा पराजित भएकाहरू नै शासन गर्ने उपल्लो हैसियतमा पुगेका छन्। २०७९ सालको स्थानीय तहमा पराजित भएका जनमतका दुई जनालाई रोचक सौभाग्य मिलेको छ।
त्यस्तो अहोभाग्यका भागिदार प्रतिनिधिसभा सभा सदस्य अनिता देवी साह र प्रदेशसभा सदस्य सतिशकुमार सिंह हुन्।
२०७९ सालको स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए भने सतिशकुमार सिंह यति बेला गाउँपालिकाका लागि नयाँ आर्थिक वर्षको कार्यक्रम र बजेट निर्माणमा व्यस्त हुन्थे। उक्त निर्वाचनमा पराजित भएकै कारण सिंहलाई अहिले प्रदेश सरकारको नेतृत्व सम्हाल्ने अवसर जुटेको छ। र, उनी मधेश प्रदेशको तेश्रो मुख्यमन्त्री नै भईसकेका छन्।
२०३९ मसिर १५ गते जन्मिएका सिंह ४२ वर्ष नपुग्दै देशकै चर्चित प्रदेशको मुख्यमन्त्री बनेका हुन्। भारतबाट बीसीए अध्ययन पूरा गरेर फर्किएपछि उनी व्यापारमा लागेका थिए। सिंहले २०७२ सालसम्म सप्तरीमा हिरो मोटरसाइकल र महिन्द्रा गाडीको आधिकारिक बिक्रेताका बनेर सोरुम सञ्चालन गरिहेका थिए। कमाइ राम्रै थियो।
बुवाको सपना थियो छोराले राजनीतिक विरासत सम्हालोस्। सतीशका बुवा शेखरकुमार सिंह पनि राजनीतिमा संलग्न छन्। उनी लोसपाका तर्फबाट संघिय सांसद छन्।
सिंह २०७९ सालको स्थानीय निर्वाचनमा गाउँपालिका अध्यक्षमा पराजित भएका थिए। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टीबाट चुनाव उठ्दा हारेका सिंहलाई जनमत पार्टी प्रवेश गरेपछि सफलता मिल्यो।
विद्यार्थी जीवनदेखि राजनीतिक गतिविधिमा सक्रिय सिंह स्थानीय निर्वाचन २०७४ मा तत्कालीन राजपाबाट सोही गाउँपालिकाबाट अध्यक्षमा निर्वाचित भएका थिए। त्यसपछि उनी लोसपामा प्रवेश गरे।
२०७९ को स्थानीय तहको चुनाव उनी सोही पार्टीबाट गाउँपालिका अध्यक्षमा चुनाव लडे। दोस्रोपटक पालिका प्रमुख हुने उनको योजनामा बाधक बने नेपाली कांग्रेसका अरुणकुमार मण्डल। मण्डल ५,४५७ मतसहित पालिका प्रमुखमा निर्वाचित हुँदा सिंहले ३,५७५ मतमा चित्त बुझाउनुपरेको थियो।
स्थानीय तहको चुनाव हारेपछि सिंहको नजर गयो प्रदेशसभा चुनावतर्फ। लोसपाबाट प्रदेशसभामा टिकट पाउने सम्भावना थिएन। त्यसैले उनले रोजे जनमत पार्टी। जनमतले उनलाई प्रदेशसभा निर्वाचनमा उनी सप्तरी क्षेत्र नं. २ (क) बाट उम्मेदवार बनायो। विपक्षी उम्मेदवारभन्दा झन्डै दोब्बर मतले सिंह निर्वाचित भए।
चुनावमा सिंहले १६,७३४ मत ल्याउँदा जनता समाजवादी पार्टी, नेपालका शैलेन्द्रप्रसाद साहले ८,२९२ मत ल्याएका थिए। सिंहले गाउँपालिका अध्यक्ष हारेपनि प्रदेश सभामा चाँही प्रत्यक्ष नै चुनाव जिते।
तर २०७९ मै भएको स्थानीय तहको निर्वाचनमा जनमत बाटै जनकपुर उपमहानगरको मेयरमा उठेकी सो पार्टीकी केन्द्रीय सचिव अनिता देवी साहको भने जमानत नै जफत भएको थियो। भाग्य नै बलियो भएपछी कसैको केही लाग्दैन भन्ने कुरा अनिताको हकमा लागु भयो।
उनी समानुपातिक निर्वाचन मार्फत प्रतिनिधिसभा सदस्य बनिन्। त्यहि मात्रले पुगेन र उनी संघिय सरकारकै मन्त्री समेत बनिन्। उनले संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री बन्ने अवसर नै पाईन। जनमतका यी दुई जनाको अवस्थाले भाग्यमै लेखेको छ भने कसैले रोकेर रोक्न सक्दैन भन्ने कुराको पुष्टी गरेको छ।