सोसल मिडिया
युनिकोड
नेपालस्थित गणतन्त्र कोरियाली दूतावासले नेपाल-कोरियाबीचको सम्बन्धको ५०औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।
सो अवसरमा आज ‘के-संस्कृति दिवस’, ‘नेपालमा कोरिया विषयमा हाजिरी जवाफ प्रतियोगिता’, ‘कोरियन वक्तृत्वकला’ र ‘के-संस्कृति अनुभव कार्यक्रम’को आयोजना गरिएको थियो ।
कोरियाबारे जानकारी दिने उद्देश्यले आयोजना गरिएको हाजिरीजवाफ प्रतियोगिताका विजेताले आगामी सेप्टेम्बरमा कोरियामा हुने फाइनलमा नेपालको प्रतिनिधिका रूपमा भाग लिने अवसर प्रदान गरिने दूतावासले जनाएको छ ।
त्यस्तै, ‘कोरिया र नेपालबीचको कूटनीतिक सम्बन्धको ५०औँ वार्षिकोत्सवको सम्झनामा द्विपक्षीय सम्बन्धको विकासमा युवाको भूमिका’ भन्ने विषयमा कोरियाली भाषामा वक्तृत्वकला आयोजना गरिएको थियो । प्रथम, द्वितीय र तृतीय हुनेलाई दूतावासले प्रमाणपत्र र पुरस्कार प्रदान गरेको थियो ।
सो अवसरमा नेपालका लागि कोरियाली राजदूत पार्क तेयोङले यस वर्ष सन् २०२४ मा कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठको उपलक्ष्यमा दूतावासले सांस्कृतिक, आर्थिक र विकासका क्षेत्रमा विभिन्न कार्यक्रम आयोजना गर्ने जानकारी दिँदै यस किसिमको कार्यक्रमले गणतन्त्र कोरिया र नेपालबीचको सांस्कृतिक आदानप्रदानलाई थप अभिवृद्धि गर्ने बताए । नेपाल र गणतन्त्र कोरियाबीच मित्रता र सांस्कृतिक आदानप्रदानको प्रवद्र्धनका लागि आगामी दिनमा पनि दूतावासले प्रयास जारी राख्ने उनको भनाइ थियो ।