सोसल मिडिया
युनिकोड
नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले अहिले कसैसँग पनि पार्टी एकता नहुने बताएका छन् । सिमरा विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता खनालले एमालेसँग पार्टी एकता हुँदैछ भन्ने कुरा हल्लामात्रै रहेको बताएका हुन् ।
उनले अहिले पार्टी महाधिवेशनमा अगाडि बढेको बताउँदै अब नयाँ कार्यदिशा, नीति र सिद्धान्तका साथ अगाडि बढ्ने बताए ।
‘कसैसँग एकीकरण हुँदैन, यो सबै बेकारको कुरा हो । अहिले हामी कसैसँग पनि एकता गर्न सक्ने स्थितिमा छैनौ,’– उनले भने ।
नेता खनालले वर्तमान सरकारमा एमाले आफैं प्रतिपक्षजस्तो देखिएको टिप्पणी गरे । सरकारले विगतको तुलनामा राम्रो बजेट ल्याएको उनको दाबी छ ।
उनले समीकरणमा मिलाउन पर्ने कुराहरु मिलाएर अगाडि बढ्दा अर्को निर्वाचनसम्म यही सत्ता समीकरणको नेतृत्वमा सरकार रहिरहने उनको भनाइ छ ।
उनले भने, ‘अहिलेको सरकारको समीकरणमा मिलाउनु पर्ने कुरा धेरै बाँकी छन्, यसलाई मिलाउँदै गयो भने यो सरकारको आयु अर्को निर्वाचनसम्म पुग्छ तर, मिलाउन नसके अनेकन सम्भावना आइरहन्छ ।’