सोसल मिडिया
युनिकोड
तामाङ जाती अन्तर्गत पर्ने ग्लान वंशको थातथलोको अवलोकन गरेर संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले संस्कृति र पूर्खाको योगदानलाई संरक्षण गर्नु पर्ने बताएका छ।
मन्त्री तामाङले नुवाकोट दुप्चेश्वर गाउँपालिका वडा नं. ४ बेतिनिस्थित ग्लान वंशको थातथलो नाम्सापुरान पुगेर अवलोकन गरेका हुन् ।
मन्त्री तामाङले आफ्नै वंशको थातथलो पुगेर नाम्सापुरानलाई पहिचानको रूपमा ग्लान सांस्कृतिक सङ्ग्रहालय बनाउने घोषणा समेत गरेका छन् । मन्त्री तामाङले यो वर्षको बजेटमार्फत त्यस स्थानमा सङ्ग्रहालय बनाउन ग्लान समाजको संयोजनमा ‘ग्लान उद्गमथलो ङारदिम संरक्षण तथा प्रवर्द्धन केन्द्र’ शीर्षकमा ९० लाख रुपैयाँ बजेटसमेत विनियोजन गरेका छन् ।
यसै गरी बागमती जिल्ला समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित ग्लानले यस ठाउँको संस्कृति जोगाउनुपर्ने जोड दिएका छन् । उनले भने,‘ग्लानहरुले खोज्दै आउँदा ग्लानको थातथलोमा आफ्नै संस्कृति पाउनुपर्छ, त्यसको लागि जोगाउनुपर्छ। ’
नेपाल तामाङ घेदुङ बाग्मतीका अध्यक्ष लिला कुमार ग्लानले सम्पूर्ण ग्लानहरूको साझा ऐतिहासिक ङारदिमको सम्वर्द्धन गर्नुपर्ने बताए ।
थातथलो अवलोकनको क्रममा बागमती प्रदेश पूर्व सांसद ओमबहादुर ग्लानले यस थातथलोलाई चिनाउनका लागि मन्त्रीले बजेट विनियोजन गरेकोमा धन्यवाद दिँदै थातथलोलाई सबैले बिर्सन नहुने बताए ।
त्यस्तै बेतिनी डाँडामा निर्माणाधीन डम्फु पार्क र कुदाप क्याबा (चुल्हो) डाँडा पर्यटकको आकर्षण थलो बनेको छ ।
यस्तै गाउँपालिकाका अध्यक्ष शङ्करबहादुर थापाले भाषा, संस्कृति र थातथलो पहिचान गर्दै गर्दा त्यस स्थानबाट छुटेर गएका अन्य ग्लानहरुलाई थप सहजीकरण समेत हुने बताए ।
त्यस्तै पालिकाकी उपाध्यक्ष माकुरी तामाङले नेपालभरि छरिएका ग्लान समुदायले उद्गमथलोलाई खोजी गर्ने अभियानमा लागेकोमा खुसी व्यक्त गरिन् ।
गाउँपालिकाका पूर्व अध्यक्ष योविन्द्रसिंह तामाङका अनुसार ग्लानको थातथलोको पहिचान र पालिकाकै पर्यटनको आकर्षण र पछिल्लो पुस्तालाई थातथलो बुझाउन डम्फु पार्क र कुदाप क्याबा निर्माण गरिएको बताए ।
‘आउँदो वर्षमा यसै थलोमा ग्लानको सामूहिक राष्ट्रिय भेला गर्नेछु ।’ उनले वचनबद्धता गरे । छरिएर रहेका ग्लानहरुलाई उद्गमथलोसम्म ल्याइपुर्याइने वातावरण सिर्जना गर्नुपर्ने बताए । यसै गरी आनन्दी ग्लानले स्नातकोत्तर अध्ययनमा लपताबकै विषयमा अध्ययन गरेको बताइन् । उनले ग्लानको थातथलो नाम्सापुरान आउने अवसर मिलेकोमा खुसी बताइन् ।
पूर्व गाउँपालिका अध्यक्ष तामाङको पालामा बनेको कुदाप र डम्फु पार्कले ग्लान वंशको पहिचान र आन्तरिक तथा बाह्य पर्यटनको लागि आकर्षक बन्दै गएको छ ।
ग्लान समाज नेपालले आयोजना गरिएको थातथलो अवलोकन कार्यक्रममा मन्त्री लगायत वरिष्ठ ग्लानहरु पुगेका हुन् ।
तामाङ जातिको ग्लान थरको थातथलो (बाब्सा) मा उनीहरूले कुल पूजा गर्दा कुदापमा पकवान गरेर प्रसाद खाने चलन रहेको स्थानीय ८१ वर्षीय टोकबहादुर ग्लानले जानकारी दिए । सोही वडाका वडाध्यक्ष ज्ञानबहादुर तामाङले स्वागत गरेका उक्त कार्यक्रम समाजका सदस्य सचिव ‛युनिक’ रक्षे ग्लानले सञ्चालन गरेका थिए ।