सोसल मिडिया
युनिकोड
आजका लागि बोलाईएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।
सभामुख देवराज घिमिरेको सरकारी निवास बालुवाटारमा बिहानै बसेको मुख्य दलका प्रमुख सचेतकसहितको बैठकले आज र भोलिको बैठक स्थगित गर्ने निर्णय गरेको हो । यो निर्णयसँगै सूचना टाँस गरेर बैठक स्थगित गरिएको हो ।
आजदेखी प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि छलफल गर्ने कार्यसूची थियो । अब जेठ २९ गतेदेखि नियमित छलफल हुनेछ ।
विनियोजन विधेयक, २०८१ अन्तर्गत मन्त्रालयगत छलफलका लागि बजेट पुस्तिका अध्ययनका लागि दलहरूले समय मागेका कारण बैठक दुई दिन पर सारिएको जनाइएको छ ।
सभामुख देवराज घिमिरेले बोलाएको बैठकमा उपसभामुख इन्दिरा राना, नेपाली कांग्रेसका सचेतक सुशीला थिङ, एमाले प्रमुख सचेतक महेश बर्तौला, माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही उपस्थित थिए ।
बैठकमा मुख्य सचिव डा. बैकुण्ठ अर्याल र संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेय पनि सहभागी थिए । प्रधानमन्त्री प्रचण्ड भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहणमा सहभागी हुन आज भारत जादैछ्न। प्रचण्ड भोलि स्वदेश फर्कने कार्यक्रम छ। प्रधानमन्त्री भारतबाट फर्किएपछि मात्र बैठक बस्ने भएको हो।