सोसल मिडिया
युनिकोड
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको विकास र समृद्धिका लागि उपलब्ध स्रोत र साधनको अधिकतम प्रयोग गर्न जरुरी रहेको बताएका छन् । आजदेखि जनकपुरधाममा सुरु जनता समाजवादी पार्टी (जसपा)नेपालको राष्ट्रिय एकताको प्रथम महाधिवेशनको उद्घाटनका अवसरमा उनले उक्त धारणा राखेका हुन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले जनता समाजवादी निकै कठिन अवस्थाबाट गुज्रे पनि अहिलेको परिवर्तनलाई संस्थागत गर्दै दृढ इच्छाशक्तिसहित अगाडि बढ्नुको कुनै विकल्प नभएको बताए। नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पछिल्लो समय मधेस पहाडबीचको सम्बन्ध सुमधुर भएको उल्लेख गरे। विभिन्न प्राकृतिक विपत्तिको समयमा दुवै भूगोलमा बस्ने जनताले देखाएको सद्भावले यसलाई पुष्टि गरेको उनको भनाइ थियो । सबै राजनीतिक दलहरू सहअस्तित्वका साथ काम गर्न आवश्यक भएको उल्लेख गर्नुहुँदै उनले कुनै पनि पार्टी विभाजन मुलुकका लागि राम्रो नहुने बताए। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपाध्यक्ष डा स्वर्णिम वाग्लेले मधेस आन्दोलनसहित अन्य आन्दोलनको बलमा प्राप्त भएको २०७२ सालको संविधानको रक्षा गर्दै मुलुकमा उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गर्दै मुलुकलाई विकासको पथमा अघि बढाउनुको विकल्प नभएको बताए। उनले मधेसलाई सम्पन्न बनाउनका लागि कृषि क्षेत्रको विकासका लागि सिँचाइको व्यवस्था गर्दै मुलुकलाई औद्योगीकरणतर्फ लैजानुपर्ने आवश्यकता औँल्याए।