राष्ट्रपति उडे जेनेभा, साथमा को-को लगे ?

मंगलबार, जेठ २९, २०८१

राष्ट्रपति रामचन्द्र पौडेल अन्तर्राष्ट्रिय श्रम सम्मेलनको एक सय १२औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्वीट्जरल्याण्डको जेनेभा तर्फ प्रस्थान गरेका छन् । 

राष्ट्रपति पौडेलले यही जेठ ३१ गते सो अवसरमा उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’को उद्घाटन मञ्चलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा उनले जेठ ३० गते स्वीस महासङ्घका राष्ट्रपति विओला आमर्डसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। नेपालका राष्ट्र प्रमुख र स्वीस महासङ्घका राष्ट्रपतिबीच यसरी द्विपक्षीय भेटवार्ता हुन लागेको सम्भवतः यो पहिलोपटक भएको बताइएको छ ।

मन्त्रालयलका प्रवक्ता अमृतबहादुर राईका अनुसार भ्रमणकै क्रममा राष्ट्रपति पौडेल आगामी असार १ गते जेनेभाबाट सङ्घीय गणतन्त्र जर्मनीको बर्लिन प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रपति पौडेलले जर्मनीका राष्ट्रपति फ्रैङ्क वाल्टर स्टीनमेयरको निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमण गर्न लागेका हुन्। उनले असार ३ गते जर्मनीका राष्ट्रपतिसँग औपचारिक भेटवार्ता गर्नेछन्।

राष्ट्रपति पौडेलका साथ उनकी धर्मपत्नी सविता पौडेल रहेनेछिन्। प्रतिनिधिमण्डलका अन्य सदस्यहरूमा राष्ट्रपतिका परराष्ट्र मामिलाविज्ञ डा सुरेशचन्द्र चालिसे, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका सचिवहरू, स्वीट्जरल्याण्ड र जर्मनीका लागि नेपाली राजदूतहरू तथा राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू रहनेछन्। राष्ट्रपति पौडेल भ्रमण सम्पन्न गरी असार ५ गते स्वदेश फर्किनेछन् ।

राष्ट्रपति पौडेलको विदाइमा उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसहित उच्च पदस्थ अधिकारीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  १८:४९
प्रतिक्रिया दिनुहोस्