गणतन्त्रमा केही भएन भन्ने भाष्य गलत भएको भेउ योगेशले भद्रकाली पुगेर पाए

बुधबार, जेठ ३०, २०८१

नेकपा (एमाले) का सचिव योगेश भट्टराईले गणतन्त्र स्थापनापछि मुलुकमा केही भएन भन्ने खालको भाष्य गलत भएको बताएका छन् । गणतन्त्र दिवस–२०८१ का अवसरमा राष्ट्रिय समाचार समिति (रासस)द्वारा आयोजित ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनीको आज अवलोकनपछि उनले सडक, पूर्वाधार, पर्यटन, स्वास्थ्य, जलविद्युत् आदि क्षेत्रमा प्राथमिकताका साथ विकास र निर्माण भइरहेको छ भने । 

उनले अझै दूरदराजका जनताका अपेक्षा र चाहनालाई सम्बन्धित सरकारले सम्बोधन गर्नुपर्नेमा जोड दिँदै गणतान्त्रिक व्यवस्थालाई सबल बनाएर जानुको विकल्प नभएको स्पष्ट गरे । उनले राससले आयोजना गरेका तस्बिर प्रदर्शनीले गणतन्त्रपछिका विकास निर्माणका उपलब्धिलाई आधारभूतरुपमा प्रस्तुत गरेको बताए ।  । 

सोही अवसरमा नेता भट्टराईले मुलुकका आधिकारिक समाचार समितिका रुपमा रहेको राससको छिमेकी भारत र चीनका साथै संयुक्त राज्य अमेरिकामा आवासीय प्रतिनिधि राख्न आफूहरुले पहल गर्दै आएको जनाए । पूर्व संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भट्टराईलाई राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससका समाचार सङ्कलन, सम्पादन र वितरण प्रक्रियाबारे अवगत गराएका थिए । 

नेता भट्टराईलाई राससका महाप्रबन्धक सिद्धराज राईले भद्रकाली परिसरमा स्वागत गर्दै समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनीबारे अवगत गराएका थिए । यही जेठ १० गते सञ्चार तथा सूचना  प्रविधिमन्त्री रेखा शर्माबाट  उद्घाटन भएको तस्बिर प्रदर्शनी यही जेठ मसान्तसम्म जारी रहनेछ ।
 

प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  १५:४९
प्रतिक्रिया दिनुहोस्