सोसल मिडिया
युनिकोड
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले देशको नाममा कुनै काम नगरेको टिप्पणी गरेका छन् । बिहीबार पार्टीको भक्तपुर जिल्ला कमिटीको कार्यक्रममा ओलीले कांग्रेसले देशका लागि केही गर्न नसकेको आरोप लगाएका हुन् ।
“एउटा सिन्को भाँच्या छ ? कति वर्ष सरकारमा बस्यो, देशका लागि ? कांग्रेसले देशका लागि गर्यो के भन्दा केही पनि छैन,” उनले भने ।
अहिले गिरीबन्धु टी स्टेटमा आफूलाई जोडेर भ्रम फैलाउने काम भएको ओलीको भनाइ छ । उनले कानुन बनाएपछि एमालेलाई आरोप लगाइएको दाबी गरे ।
“गिरीबन्धु टी स्टेटलाई बेथिति गर्न पाइँदैन भनेर कानुन बनायौँ, कानुन बनाएपछि बेचेर खान नपाइने भयो भनेर स्याल हुइँय्या मच्याएका छन् । केपी ओलीले यो गयो त्यो गर्यो भनेर,” ओलीले भने ।
वैचारिक संघर्ष गर्न नसक्ने भएपछि बदनाम गराउने काम भएको उनको जिकिर छ ।
उनले कांग्रेसले भूकम्प गएको बेला केही नगरेको पनि आरोप लगाए । एमालेले एक महिनासम्म दिनमा ३० हजार स्वयंसेवक एक महिनासम्म खटाएको उनले बताए । उनले कांग्रेसले काम नगर्ने र धेरै बोल्ने गरेको आरोप लगाए ।
“मलाई थाहा छैन, हात छ कि छैन । थुतोनो मात्रै ट्याउँट्याउँ,” उनले भने, “यिनीहरूलाई गाली गर्न आउँछ । भ्रम फिजाउन आउँछ । तर, काम गर्न आउँदैन । कांग्रेस भेटियो भने हेर्नुपर्ला, खोइ देखाऊ त हात छ कि छैन ?”
त्यति भनिसकेपछि ओलीले कांग्रेसलाई गाली नगरेको भएर झुट नबोल्न सम्झाएको बताए । उनले स्वच्छ प्रतिष्पर्धामा आउन पनि चुनौती दिए । कांग्रेसले मान्छे मारेर, घाइते बनाएर चुनाव जितेको उनको आरोप छ ।