संघीय संसद् र प्रदेश सभाका सदस्यलाई मुलुकले थेग्न नसकेको गगनको ठहर

शनिबार, असार १, २०८१

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संघ र प्रदेश सभा सदस्य घटाउनुपर्ने बताएका छन्।

कांग्रेस नागार्जुन नगर कार्यसमितिले शनिबार आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा थापाले संविधान संशोधन गरेर केन्द्र र प्रदेश सभाका सांसदको सङ्ख्या घटाउनुपर्ने बताएका हुन्।

मुलुकमा उपलब्ध स्रोत र साधनले मौजुदा संघीय संसद् र प्रदेश सभाका सदस्यलाई थेग्न नसक्ने उनको भनाइ थियो।

त्यस्तै, महामन्त्री थापाले संघ र प्रदेशमा मन्त्रीको संख्या पनि घटाउनुपर्ने बताए। उनले संघीय सरकारमा १० देखि १२ जना मात्र मन्त्री बनाउनुपर्ने जिकिर गरे। केन्द्रसँगै प्रदेशमा पनि मन्त्रीको सङ्ख्या घटाउनुपर्ने थापाको भनाइ थियो।

यससँगै प्रदेशको निर्वाचन प्रणाली पनि परिवर्तन गर्नुपर्नेमा उनले जोड दिए। प्रदेशको निर्वाचन प्रणालीका कारण कतिपय प्रदेशलाई अदालतले निर्णय गर्नुपर्ने अवस्था सिर्जना भएको थापाले बताए।

यसका लागि संविधान संशोधन लगायत विषयमा नेकपा (एमाले)सँग छलफल भएको थापाले जानकारी दिए। त्यो छलफलमा सरकार फेरबदलका विषयमा भने कुराकानी नभएको उनको भनाइ थियो।
 

प्रकाशित मिति: शनिबार, असार १, २०८१  १६:४६
प्रतिक्रिया दिनुहोस्