सोसल मिडिया
युनिकोड
सत्तारुढ दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकार ल्याएको बजेटप्रति असन्तुष्टि जनाएका छन्।
संघीय संसद् भवनस्थित ल्होत्से हलमा शनिबार बसेको एमाले संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले बजेटमाथि खुलेर छलफल गर्न निर्देशन दिएका छन्। “अगाडि बढ्ने बाटो भनेको बजेट हो। त्यसैले बजेटको सन्दर्भमा एक–दुई जनाको मुख हेरेर होइन, कति ठिक कति बेठीक त्यसमा छलफल गर्नुपर्ने हुन्छ,” ओलीले भने।
एमाले सरकारमा सहभागी हुँदैमा सन्तुष्ट बन्न नहुने उनको भनाइ थियो। “गरिबीतिर देश गए पनि के भयो र हामी सरकारमा छँदै छौँ भनेर हुन्छ?,” ओलीले प्रश्न गरे, “देशलाई गरिबीबाट रोकेर विकासतर्फ अघि बढाउन हामी सरकारमा गएको हो। त्यही चिज हुँदैन भने सन्तोष कसरी मान्ने?”
उनले गरिबी बढेको उल्लेख गर्दै विकासका कामका ध्यान दिनुपर्ने बताए। “हामी अल्पविकसितबाट विकसितमा जान प्रयास गरिरहेका छौं। हामीले १७ प्रतिशतमा झारेको गरिबी २० प्रतिशत माथि पो पुग्यो,” ओलीले भने, “पूर्वाधारको सही सदुपयोग गरिएन भने पूर्वाधार मात्र विकास होइन। त्यस पूर्वाधारलाई प्रयोग गरेर विकास अगाडि बढाउनुपर्छ।”
एमालेले नेतृत्वका गरेका मन्त्रालयको बजेटबारे पनि छलफल गर्न सांसदलाई आग्रह गरेका छन्। कुन मन्त्रालयमा कति बजेट विनियोजन गरिएको छ भन्ने विचार गर्नुपर्ने उनको भनाइ थियो।
“हामीले नै चलाइरहेका मन्त्रालयको कस्तो छ स्थिति? कस्तो छ त्यसको विनियोजन? त्यो पनि हेर्नुपर्ने हुन्छ,” ओलीले भने, “ यी सबै विषयमा साथीहरूले खुलेर छलफल गर्नुहोस्।”