सोसल मिडिया
युनिकोड
सरकारले आजदेखि हात्तीपाइलेविरुद्धको औषधि खुवाउँदै छ ।
हात्तीपाइले रोगको जोखिम रहेका झापा, धनुषा, सर्लाही, रौतहट, रसुवा र कपिलवस्तु जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि सबैलाई खुवाउने गरी आम औषधि सेवन अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र मरासिनीले जानकारी दिए ।
यसअघि ती सात जिल्लामा आम औषधि सेवन अभियान सञ्चालन गरिए पनि सफल नभएपछि पुनः अभियान सञ्चालन गर्न थालेको हो । अभियान दुई हप्तासम्म सञ्चालन हुनेछ । अभियानमा यसपटक करिब ६ हजार स्वास्थ्यकर्मी र पाँच हजार आठ सय महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिने छन् ।
निर्देशक डा. मरासिनीका अनुसार सात जिल्लाका १०१ स्थानीय तहका ५० लाख ७८ हजार जनालाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन थालिएको हो । दुई वर्षभन्दा बढी उमेरका सबैलाई औषधि खुवाइने उनले बताए । गर्भवती र सात दिनसम्मका सुत्केरी, छारे रोगको समस्या भएका व्यक्ति, पहिले आम औषधि सेवन गर्दा गम्भीर समस्या देखिएका व्यक्ति तथा सिकिस्त बिरामीले सो औषधि खान नहुने निर्देशक डा मरासिनीले बताए । हात्तीपाइलेविरुद्धको आम औषधि सेवन कार्यक्रम सफल भएको उनको भनाइ छ ।