सङ्घीय निजामती विधेयकको छलफल खाजाका कारण यसरी भाँडियो

आइतबार, असार २, २०८१

मिनी संसद भनेर चिनिने संसदीय समितिको बैठक उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बहिष्कार गरेका छन्। बैठकमा ठुलै विवाद भएर उनले बहिष्कार गरेका भने होइनन्। प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक गृहमन्त्रीले नै बहिष्कार गरेपछि स्थगित भएको छ। 

उपप्रधानमन्त्रीले नै बैठक बहिष्कार गर्नु पर्ने कारण भने जम्माजम्मी खाजा हो। आज बिहानका लागि बोलाइएको बैठकमा एनजीओले दिएको खाजा ल्याईएपछि त्यसैको विरोधमा गृहमन्त्री रवि जुरुक्क उठेर हिडेका हुन्। आजको बैठकमा बहुचर्चित  ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा छलफल ’ गर्ने विषय थियो । तर आज हुने भनिएको छलफल नै खाजाले खाईदियो। 

निर्धारित समयमा गृहमन्त्री उक्त बैठकमा पुगेका थिए। बैठक सुरु हुँदा नहुँदै खाजा आयो। बाठा गृहमन्त्रीले संसद्को चमेना गृहको नभई अन्तैको खाजा आयो भन्ने पोको हेरेर नै पत्ता लगाईहाले। र, आफ्ना सदाबहार विरोधी समितिका सभापति रामहरी खतिवडा माथि प्रश्न गरे। 
 तर खतिवडाले कुरो मोडेपछि लामिछाने हिडेको समितिका एक सदस्यले तोकादेशलाई बताए। 

आजको बैठकमा मंहगो मूल्यका खाजा अर्डर गरिएको थाहा पाएपछि मन्त्री गृहमन्त्री भड्किएका हुन्  । खाजाको प्याकेटमा चना,फलफुल, जाम-पाउरोटी, अण्डा, आलु भुजुरी आदि रहेको संसदका कर्मचारीले बताए।  बुझ्दै जाँदा सो खाजा एलएक्सपिटीडी भन्ने संस्थाले उपलब्ध गराएको हो । सो संस्थाले जनसङ्ख्या र विकाससम्बन्धी काम गर्ने गर्दछ । लामिछानेले एनजीओको खाजा खाएर बैठक नबस्ने अडान लिएपछि बैठक स्थगित भएको हो । हुन त समिति सभापति खतिवडा र गृहमन्त्री रवि विच सम्बन्ध उति राम्रो छैन। 

समितिका सभापति खतिवडाले आन्तरिक स्रोतबाट खाजा आएको र कहिलेकाँही यस्तो हुन्छ भनेपछि गृहमन्त्री रन्किएर हिडेको अर्का सांसदले बताए।  संसद सचिवालयकै चमेना गृह छलेर आईएनजिओले दिएको खाजा ल्याउनुको पछाडी केही रहस्य हुन सक्ने स्वयम् सांसदहरुले नै बताएका छन्। 

प्रकाशित मिति: आइतबार, असार २, २०८१  १३:३३
प्रतिक्रिया दिनुहोस्