बालेन माथि एकै दिन दुई आपत, एक्लै कसरी चलाउलान् रथ ?

आइतबार, असार २, २०८१

नेकपा एमाले र नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्षले बैठक बहिष्कार गरेपछि काठमाडौं महानगरको नगर सभाको बैठक स्थगित भएको छ । आजका लागि डाकिएको अधिवेशन असार १० गतेसम्मका लागि स्थगित भएको हो ।

आजको बैठक सुरु हुनासाथ मेयर बालेन साहले आर्थिक वर्ष २०८१-८२ का लागि जेठ ३२ गते प्रस्तुत भएका वार्षिक नीति तथा कार्यक्रममाथि बोल्न चाहने सदस्यहरुलाई ५ मिनेटभित्र नाम टिपाउन समय दिएका थिए ।

लगतै कांग्रेस र एमालेका वडाध्यक्षहरुले नगरसभाको बैठक बहिस्कार गरेर सभाहलबाट उठेर गएका थिए । कार्यपालिका सदस्यहरुले बैठक बहिस्कार गरेपछि नगरसभाको बैठक स्थगित भएको हो ।

यता, आजै कवाड व्यवसायीहरु काठमाडौं महानगरपालिकाविरुद्ध सडक संघर्षमा उत्रिएका छन् । काठमाडौं महानगरले धमाधम कवाड व्यवसायीहरुलाई हटाउन सुरु गरेको भन्दै उनीहरु आजदेखि विरोध प्रदर्शनमा सडकमा उत्रिएका हुन् ।

काठमाडौं महानगरले रिङरोडभित्रका कवाड हटाउने निर्णय गरेको थियो । काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहले अदालतको निर्णयसमेतलाई बेवास्ता गरी कवाड व्यवसायीहरुमाथि अन्याय गरिरहेको उनीहरुको भनाइ छ । उच्च अदालतले कवाड व्यवसायीलाई नहटाउनु भन्ने आदेश दिँदा पनि महानगरले कवाड व्यवसायीको टहरामा डोजर चलाएको उनीहरुले बताए । महानगरभित्रका विभिन्न वडाहरुले कवाड व्यवसायीहरुको व्यवसाय नवीकरण नगरिदिएको पनि उनीहरुको भनाइ छ । काठमाडौं महानगरले व्यवसाय नै निषेध गर्न खोजेको भन्दै उनीहरु सडक संघर्षमा उत्रिएका हुन् ।

आम जनता पार्टीका महासचिव त्रिभुवन साहको विशेष उपस्थिति एवं कवाड संघर्ष समितिका नेता रामकेवल साह, संजय साह, सरोज श्रेष्ट लगायतका नेतृत्वमा भएको उक्त प्रदर्शनमा “छोटे राजाहरुको आतंक बन्द गर, कबाड व्यवसायीको रक्षा गर, कानुनी शासन लागु गर, अदालतको निर्णयको सम्मान गर” जस्ता नाराहरु भएको ब्यानर बोकेर उनीहरु प्रदर्शनमा छन् ।

प्रकाशित मिति: आइतबार, असार २, २०८१  १३:५५
प्रतिक्रिया दिनुहोस्