सोसल मिडिया
युनिकोड
शिक्षा तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षामा दलीय राजनीतीकरण अन्त्य गरेरै छोड्ने बताएकी छन् । मंगलबार शिक्षा मन्त्रालय सम्हालेको एक सय दिन पुगेको अवसरमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएकी हुन् ।
यहि बिचमा देशभरका ८ सय २५ जना शिक्षकले राजनीतिक दलको आबद्धता त्याग्न शिक्षा मन्त्रालयको निर्देशन पालना गरेका छन् । तर, २० जनाले भने बरु शिक्षक पद नै त्यागेर भए पनि राजनीति अँगालेका छन् ।
शिक्षामन्त्री सुमना श्रेष्ठले दलको आबद्धता त्याग्न शिक्षकहरूलाई निर्देशन दिएकी थिइन् । ती मध्येका ८ सय २५ जना शिक्षकले राजनीतिक दलको सदस्यता त्याग गरेकोमा २० जनाले शिक्षकबाट राजीनामा दिएर राजनीति रोजेका हुन् ।
राजनीतिमा लागेर शिक्षणलाई सहायक पेशा बनाएका २० जना शिक्षकहरूले राजीनामा दिएको शिक्षा तथा मानवस्रोत विकास केन्द्रका महानिर्देशक दीपक शर्माले जानकारी दिए । उनका अनुसार राजीनामा दिनेहरू पार्टीको कार्यकारी भूमिकामा बसेका शिक्षकहरू छन् ।
मन्त्री सुमनाले शिक्षामा दलीय राजनीतीकरण अन्त्य गर्ने कार्यको थलनी भएको बताइन् । उनले शिक्षकले कुनै पनि राजनीतिक दलको सदस्यता लिन नपाउने र राजनीति गर्न नपाउने एजेन्डा लागू गरेर छोड्ने बताइन् ।
उनले शिक्षामा दलीय राजनीतीकरण हुन नहुने अन्तिम साससम्म नछोड्ने एजेन्डा भएको बताइन् । उनले यो क्षेत्रमा अहिलेसम्म भएको कार्यप्रगति चित्तबुझ्दो नभए पनि सुरुवात भएको उल्लेख गरिन् । उनले सरकारले मात्रै गर्ने भन्दा पनि सबैको सहयोगको आवश्यकता रहेको बताइन् ।
उनले सबैको साथ सहयोग भए मात्रै यो एजेन्डाले सार्थकता पाउनसक्ने बताइन् । उनले शिक्षामा दलीय राजनीतीकरण रहेसम्म समाज, शिक्षक र विद्यार्थीहरूको शिक्षण पेशामा मर्का पुर्याइरहने बताइन् । उनले मन्त्रालयले निर्वाचन आयोगसँग दलमा आबद्ध शिक्षकहरूको तथ्याङ्क माग गरे पनि प्राप्त नभएको बताइन् । आगामी दिनमा झन् कठोर भएर लाग्ने उनको भनाई छ।