सोसल मिडिया
युनिकोड
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले गणतन्त्र प्राप्ति पछि विकासले फड्को मारेको बताएका छन् ।
गणतन्त्र दिवस–२०८१ का अवसर पारेर राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको ‘गणतन्त्रका उपलब्धि: समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनी अवलोकनपश्चात् उनले मुलुक विकास र आर्थिक समृद्धिको दिशामा अगाडि बढेको बताए ।
“मुलुकको आर्थिक विकास कतातर्फ गइरहेको छ भनेर सूक्ष्म ढङ्गले प्रदर्शनीलाई हेरेर विश्लेषण गर्न सक्छौँ”, पूर्वमन्त्री कार्कीले भने, “तर, अहिले समाजमा जुन किसिमको नकारात्मक सोच र प्रचार गर्ने प्रवृत्ति बढेको छ, त्यसले हाम्रो बिचमा दुबिधा सिर्जना गरेको छ । यसलाई राम्रोसँग प्रचार गर्न सक्नुपर्दछ ।”
उनले देश विकासको गतिमा फड्को मारिरहे पनि गतिलाई अझ प्रभावकारी बनाइनुपर्नेमा जोड दिए । उनले पछिल्लो दशकमा कूल गार्हस्थ उत्पादन (जिडिपी) र ‘परक्यापीटल इन्कम’ पनि वृद्धि भएको जानकारी दिए । “विकासको गति सुस्त होला तर, गति अवरुद्ध छैन”, उनले भने, “अहिले गाउँमा विकास भइरहेको छ, अर्बौँ रुपियाँ खर्च पनि भइरहेको छ ।”
नेता कार्कीले गाउँमा विकासका पूर्वाधार पर्याप्त भए पनि गाउँ खाली हुँदै गइरहेकोमा चिन्ता प्रकट गरे । उनले मुलुकको सम्भावनालाई जनताले अनुभूत गर्ने किसिमले अगाडि बढाउनुपर्ने आवश्यकता रहेको धारणा राखे ।
यही जेठ १० गतेदेखि सुरु भएको प्रदर्शनीमा सातवटै प्रदेशमा निर्माण भएका भौतिक पूर्वाधारसम्बन्धी ९५ तस्बिर समेटिएका छन् ।