गृहमन्त्री रविको सय दिनको काम, खोजीखोजी भेला गरे भए भरका हराम

बिहीबार, असार ६, २०८१

आफू चाँही भन्ने एउटा गर्ने अर्को अनि यसो गरिस् नि भन्दा आफैं झर्को र फर्को गर्ने त वहालवाला गृहमन्त्रीको सनातनी स्वभाव नै हो। सुशासनका भए भरका विशेषण भिराएर सदाचारको गफ जोत्ने गृहमन्त्रीले छानीछानी विवादमा जाकिएका कर्मचारीलाई गृहमन्त्रालयमा भित्र्याएका छन्। गृहमन्त्री भएको १०० दिनमा सबै राम्रो गरेको भन्ने सुनाएका उपप्रधानमन्त्री समेत रहेका गृहमन्त्री रवि लामिछानेले दायाँ बाँया कस्ता सारथि छन् भन्ने चाँही मेसो नै पाएनन्।  

हुन त मान्छेले कस्ता मान्छेलाई बोक्छ उसको दम त्यसै बाट पनि प्रष्ट हुन्छ भन्ने भनाई नै छ। आफै अनेक काण्डको फन्दामा परेका र आरोपै आरोपको भारीले थिचिएका गृहमन्त्रीका सुशासनका कुरा पत्याई साध्ये छैनन्। कथनी र करनी एक नदीका दुई किनार हुँदा पनि उनै उपप्रधानमन्त्री एवं गृहमन्त्री रविका कुरा चौबिस क्यारेटकै हुन् भन्नेको भिड पनि उत्तिकै छ। 

सत्यलाई भिडले त कसरी जित्न सक्थ्यो र ? सुझबुझमा शून्य भएकालाई छट्टु कुरा गराईबाट आफू तिर तान्ने काम अझै जारी नै छ। उनले त्यो कुटिलता गृहमन्त्रालयमा पनि लागू गरिदिएका छन्। र त खुराफातमा अब्बल सहसचिव गृहमन्त्रालयमा भेला भएका छन्। सद्दे भन्दा पनि दाग लागेकालाई दाँयाबाँया लगाएर हिड्नु गृहमन्त्रीको विशेषता नै भएको स्वयम् उनकै स्वतन्त्र पार्टीका एक जना केन्द्रीय सदस्यको टिप्पणी छ।  हुन पनि उनले भनेकै जस्तो व्यबहार तिनै गृहमन्त्रीको कामकाज बाटै प्रष्ट भईआएकै छ। 

लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन सचिव लालबाबु कबारी सिङ्गदरबार भित्रिन खोजेको छ महिना भन्दा बढ्दा भएको थियो। उनले भूमिसुधार मन्त्रालयमा सरुवा मिलाउन केही लाख लगानी पनि गरिसकेका थिए। तर उनलाई गृहमन्त्रीका भित्रियाले भेटेर गृहमन्त्रालयको टिकट काटिदिएपछि उनको भूमि सरुवा सेलायो। 

कवाडी तिनै हुन् जो रवि पहिलोपटक गृहमन्त्री हुँदा सिराहाको सिडिओबाट झिकेर गोरखा पठाइएको थियो । तर, सिराहामा जग्गासम्बन्धीको विषयमा बिचौलियामार्फत ५० लाख घुस ‘बार्गेनिङ’ गरेको काण्ड आएपछि उनी गोरखा नपुग्दै तानिए । कबारी कम्पनी रजिष्ट्रारको कार्यालयमा कार्यरत रहँदा २० लाख घुस काण्डमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेका व्यक्ति हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृह जिल्ला गोरखाको सिडिओ हुन नपाएका विवादित कबारीलाई फेरि गृह मन्त्रालय भित्र्याएपछि गृहका कर्मचारी नै रविको शुशासनको खुट्टी राम्रैसँग देखियो भन्न थालेका छन् ।

कवारी मात्र होइन काठमाडौं महानगरपालिकामा कर्मचारी भर्तिमा ‘किर्ते’को बात् लागेकालाई पनि रविले सुशासनको छाता ओडाएका छन्। महानगरका मेयर बालेनले खेदाएका बसन्त अधिकारी रविले गृह मन्त्रालयमा ‘फूलमाला’ लगाएर स्वागत गरे । सुशासनको दुहाइ दिने रविले त्यति मात्र गरेरन् उनलाई राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा लगेर पुरस्कृत नै गरे । ति अधिकारीलाई किर्तेमा मुद्दा चलाउन बालेनले तत्कालिन गृहमन्त्री नारायणकाजीलाई गुहारेका थिए। 

अर्का तिर यातायात व्यवस्था विभागको महानिर्देशक हुँदा इम्बोस्ड नम्बर प्लेट र नक्कली लाइसेन्स जारी प्रकरणमा नाम जोडिएका नारायणप्रसाद भट्टराई पनि उनै रविको प्रिय बनेका छन्। भट्टराईलाई चाँही नारायणकाजीले नै मन्त्रालय तानेका हुन्। यातायातकै डिजी हुँदा नक्कली लाइसेन्समा जोडिएका गोगनबहादुर हमाललाई त सोझै रविकि जोडबलमा गृह भित्र्याईएको हो। उनले अहिले रवि नेतृत्वको गृह मन्त्रालयको आन्तरिक व्यवस्थापनको जिम्मा पाएका छन्। अर्थात रविको भण्डारे नै तिनै हमाल हुन्।  

रविको मन्त्रालयमा थुप्रिएका सहसचिवको लिस्ट हेर्दा सबै विवादित मात्रै फेला पर्न थालेका छन्। उनले छानीछानी र खोजीखोजी त्यस्ता चल्तापूर्जा सहसचिवको मन्त्रालयमा काँठो लगाएका हुन्। विवादित सहसचिव भेला पारेर अझ भनौ महत्वपूर्ण जिम्मेवारी दिएर रवि आफै भने आफ्नै कारणले चिप्लिदैछन्। 

लफडामा रमाउने सहसचिवले उनको तत्काल त खातिरदारी गर्लान र भविष्यमा तिनै बाट रवि माथि कैंची चल्ने भने निश्चित छ। अरु थप केही विवादित सहसचिव गृह भित्रिने साईटको पर्खाईमै छन्। 
 

प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  ११:०५
प्रतिक्रिया दिनुहोस्