गृहमन्त्रीको निम्तो मान्न प्रधानमन्त्री प्रचण्ड पुगे बालाजु, चिया पिउनु अघि बजाए घन्टी

शुक्रबार, असार ७, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रिय स्वतन्त्र पार्टीको चियापान कार्यक्रममा सहभागी भएका छन् । रास्वपाले पार्टी मुख्यालय बालाजु बनस्थलीमा आयोजना गरेको पार्टी स्थापना दिवसकोकार्यक्रममा सहभागी हुन् प्रचण्ड बसुन्धरास्थित घण्टीघर पुगेका हुन् । प्रचण्डले रास्वपा कार्यालयमा राखिएको ठूलो आकारको घण्टी पनि बजाए । रास्वपाले दलका रुपमा दर्ता हुने क्रममा निर्वाचन आयोगबाट यही घण्टी चुनाव चिह्न पाएको हो ।

घण्टीघर पुगेका प्रचण्डले रास्वपा को दोस्रो स्थापना दिवसमा सहभागी हुनु नै आफ्नो ‘समीक्षा’ भएको बताएका छन् । रास्वपाको दुई वर्षप्रति तपाईंको समीक्षा के छ ? भन्ने पत्रकारहरूको प्रश्नमा उनले भने, “म यहाँ आएर सहभागी हुनु नै मेरो समीक्षा हो ।”

रास्वपाले शुक्रबार दोस्रो स्थापना दिवस मनाएको छ । रास्वपा सभापति रवि लामिछाने प्रचण्ड नेतृत्वको क्याबिनेटमा उपप्रधान एवम् गृहमन्त्री छन् भने रास्वपा सांसदहरू सुमना श्रेष्ठ र विराजभक्त श्रेष्ठ क्रमश: शिक्षा र खेलकुदमन्त्री छन् ।

रास्वपाले घण्टी चुनाव चिह्न लिएर पहिलो पटक चुनावमा उठ्दा प्रचण्डकै गृहजिल्ला चितवन र काठमाडौंसहित देशका २० वटा निर्वाचन क्षेत्र २०७९ मा जितेको थियो ।

शुक्रबार चियापानमा पुगेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि रास्वपाको चुनाव चिह्न घण्टी बजाएका छन् ।

प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  १६:०८
प्रतिक्रिया दिनुहोस्