मुख्यसचिवमा रोकिएका गोल्ड मेडलिष्टले पाए अमेरिकाको राजदूत, वैरागी अलपत्र 

शुक्रबार, असार ७, २०८१

मन्त्रिपरिषदको आज बसेको बैठकले  ८ देशका लागि राजदूत सिफारिस गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठक ८ देशका लागि राजदूत सिफारिस गरेको हो।

शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले अमेरिकामा पूर्वसचिव चन्द्र घिमिरेलाई पठाउने निर्णय गरेको छ। भारतमा पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी, दक्षिण कोरिया सुशील प्याकुरेललाई पठाउने भएको छ। त्यस्तै सुम्निमा तुलाधर डेनमार्क, विजन पन्त बेलायत, पुष्पराज रन्जितकार स्पेन, डा नेत्रप्रसाद तिम्सिना मलेसिया र अबुसुफ्यान खान मुसलमान साउदी अरबका लागि राजदूत सिफारिस भएका छन्।

मुख्यसचिवमा यसरी रोकिएका थिए चन्द्र घिमिरे 

२०७७ कार्तिक ६ गते लोकदर्शन रेग्मीको मुख्यसचिवको तीन वर्षे कार्यकाल सकिँदै थियो। तर लोकदर्शनले त्यो भन्दा अघि नै २o७७ असोज १५ बिहीबार बिहानै राजीनामा दिए। सोही दिनको क्याबिनेटले परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीलाई नेपाल सरकारको मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गर्यो। बिहान मुख्यसचिव बाट राजीनामा दिएका रेग्मी दिउँसो बेलायतको राजदूत नियुक्तिका लागि सिफारिशमा परे। 

यदि रेग्मीले राजीनामा नदिएको भए मुख्यसचिव हुने स्वाभाविक पालो चन्द्र घिमिरेको थियो। रेग्मीले अवकाश पाएपछिको वरिष्ठ सचिव उनै रेग्मी थिए। तर योजना नै शंकरलाई मुख्यसचिव बनाउने भए पनि घिमिरे मुख्यसचिव हुन पाएनन्। 
 
को हुन् घिमिरे ?

पूर्व सचिव तथा अमेरिकाको लागि राजदूतमा सिफारिश भएका चन्द्र घिमिरे सार्वजनिक प्रशासनमा त्रिभुवन विश्वविद्यालयका गोल्ड मेडलिष्ट हुन् ।  घिमिरेले सचिव भएपछि महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय योजना आयोग र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र वाणिज्य मन्त्रालयको अनुभव सँगालेका थिए । २०२१ सालमा सुनसरीको धरानमा जन्मिएका घिमिरे २०४६ सालमा निजामती प्रशासन सेवामा प्रवेश गरेका हुन् । घिमिरे अहिले धरान सरोकार समाजको अध्यक्षको रुपमा सामाजिक काममा सक्रिय छन्। चोभारमा बसोबास गर्दै आएका घिमिरे साहित्यकार पनि हुन्। 

उनी निजामती प्रशासनभित्र दक्ष सचिवका रुपमा चिनिए । घिमिरे २०७२ सालमा सचिव भएका थिए । २०७७ माघमा घिमिरेको सचिवको पाँच वर्षे कार्यकाल पूरा भएर अवकाश पाए। लोकदर्शन रेग्मीले राजिनामा नदिएको भए २०७७ असोज २२ मा घर जाने शंकरदास बैरागी मुख्यसचिव हुनै सक्दैन थिए। उ बेला मुख्यसचिवमा घिमिरेलाई जसले तगारो हाल्यो अहिले उसैले किस्तीमै राखेर अमेरिकाको राजदूत उपहार दिएको चर्चा हुन थालेको छ। अर्थात कोशी पारिका एमाले अध्यक्ष केपी ओली दाहिना हुनाले घिमेरे राजदूत बन्न सफल भएका हुन्। कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले पनि घिमिरेलाई प्रशासनिक जिम्मेवारी दिएका थिए। 

यता, बैकुण्ठ अर्याललाई आफू भए जसरी नै मुख्यसचिव बनाउन लागिपरेका बैरागी भने अलपत्र परेका छन्। राजदूत हुन मरिहत्ते गरेर लागिपरेका उनले रमिता हेरेरै चित्त बुझाउनु परेको छ।  मन्त्री सरहको बेकामे पद ओगटेर बसेका उनले यतिबेला पछुतो मान्न थालेको उनी निकटकाले बताउन थालेका छन्। 

प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  २१:५४
प्रतिक्रिया दिनुहोस्