सन्दीपको मुद्दामा आज सहित चौंथो पटकको पेसी तोकियो, के हुन्छ ?

आइतबार, वैशाख १६, २०८१

क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा पाटन उच्च अदालतमा आइतबार पेसी तोकिएको छ। काठमाडौं जिल्ला अदालतले बलत्कार मुद्दामा सन्दीपलाई दोषी ठहर गरेपछि उनले उच्च अदालतमा पुनरावेदन गरेका थिए। उच्च अदालतमा सन्दीपको यो चौंथो पटकको पेसी हो।

लामिछानेलाई गत वर्षको १३ पुसमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले दोषी ठहर गर्दै ८ वर्ष कैद, ३ लाख जरिवाना र २ लाख क्षतिपूर्ति भराउन आदेश दिएको थियो। तर सन्दीप १० फागुनमा जिल्ला अदालतको आदेशविरुद्ध पुनरावेदन गर्न उच्च अदालतमा पुगेका थिए।

त्यस्तै, १ चैतमा सरकारी पक्षपनि पीडित ‘गौशाला २६’ नाबालिक रहेको भन्दै उच्च अदालत पुगेका थिए। २३ चैतमा उच्च अदालतमा पहिलो पेसी रहेको थियो, जहाँ न्यायाधीश नृपधोज निरौला र कृष्णराम कोइरालाको संयुक्त इजलासले मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै दुवै पक्षलाई जानकारी गराउन आदेश दिएको थियो।

त्यसपछि पुन: ३ वैशाखमा अर्को पेसी तोकियो जहाँ न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको इजलासले गौशाला २६ ले जन्मदर्ता प्राप्त गर्नका लागि दिएको सक्कली निवेदन र जन्मदर्ता प्रमाणपत्रको स्पष्ट बुझिने प्रति माग गरेको थियो।

अदालतको माग बमोजिम प्रमाणहरू बुझाएपछि गत १० वैशाखमा उच्च अदालतमा तेस्रो पेसी तोकिएको भएपनि सन्दीपको मुद्दा हेर्न नभ्याइनेमा परेको थियो।

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  ११:३६
प्रतिक्रिया दिनुहोस्