असारमा निजामति सेवामा प्रवेश गरेका वैकुण्ठ ३२ वर्षपछि असारमै यसरी बाँधिए

सोमबार, असार १०, २०८१

घर जानु दुई दिन अगाडी मात्र अस्वाभाविक ढंगले मुख्यसचिव भएका वैकुण्ठ अर्यालले ठ्याक्कै एक वर्ष र केही दिन मुख्यसचिव चलाए। २०८० जेठ ३२ गते बिहानै उ बेलाका मुख्य सचिव शंकरदास बैरागी खनालले राजीनामा दिए।  उनको राजीनामा अर्याललाई मुख्यसचिव बनाउन थियो। 

वैरागीको कार्यकाल २०८० असोज १४ गते सकिने थियो । उनले पूरा कार्यकाल काम गरेको भए अर्याल मुख्य सचिव हुन पाउँदैनथे । तर, घर जान लागेका अर्याललाई किस्तीमै राखेर मुख्यसचिव दिन बैरागी तयार भएपछी वैकुण्ठलाई खुँदो पल्टियो। २०८० जेठ ३२ बिहानै बैरागीले राजीनामा दिए। त्यसपछि उदयराज सापकोटालाई निमित्त मुख्यसचिव तोकियो। त्यसपछि बसेको क्याबिनेटले बैरागीलाई राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्ति दियो। अनि बल्ल अर्याललाई अर्को किस्तामा बसेको क्याबिनेटले मुख्यसचिव नियुक्त गर्यो। 

हतार-हतारमा मुख्यसचिव नियुक्त भएका वैकुण्ठको नुर गिर्ने गरि अख्तियारले मुद्दा दायर गरेपछि कर्मचारी त्रसित छन्। मुख्यसचिव निजामति सेवाको मूली हो। मूली नै भ्रष्ट्राचारको आरोपमा निलम्बित भएपछी तल्लो तहका तरमारा कर्मचारीको होसहवास उडेको छ। 

सेटिंगमा सरुवा भएर काम तमाम गर्दै खुँदोको जोहो गर्नेहरु त्रसित बन्नु स्वाभाविक नै हो। निरपेक्षरूपमा असल ठानिएका सहसचिव रितेश शाक्य समेत मुख्यसचिवकै लटमा डामिएका छन्। उनी दुवै किड्नी फेरेर नाफाको जिन्दगी अन्तर्गत नोकरी गर्दै आएका सहसचिव हुन्। प्रधानमन्त्री प्रचण्डकी बुहारी विना मगर खानेपानी मन्त्री हुँदा रितेश खानेपानीमै थिए।  त्यसपछि मात्र हो रितेश अहिले खेपेको मुद्दाको उत्पति भएको आन्तरिक राजस्वमा पुगेको। त्यसपछिका दिनमा उनी अर्थ मन्त्रालय मातहत नै रहे। मुद्दा दायर हुँदा सम्म पनि उनी अर्थको बजेट महाशाखा प्रमुख थिए। 

करिअरको लामो समय उपसचिवका रुपमा राष्ट्रिय योजना आयोग र सहसचिवका रुपमा अर्थ मन्त्रालयमा बिताएका डा. बैकुण्ठ अर्याल शुरुवाती दिनमा द्रब्यमोहमा नभएको उनलाई जान्ने बुझ्ने बताउछन्। तर जव उनी सचिव भए त्यसपछि भने उनमा द्रब्यतृष्णा पलाएको हो। वित्त आयोगमा १९ महिना सचिव भएर बस्दा उनको नन्दी भ्रिंगी संग सम्बन्ध बढेको हो। विकल पौडेल संग उनको कोही मार्फत वित्त आयोगमै हुँदा शुरुवाती सम्बन्ध भएको थियो।  

अर्थशास्त्रमा पीएचडी गरेका अर्यालले अर्थ मन्त्रालयको बजेट महाशाखा प्रमुख हुँदा लाइन मिनिस्ट्री  बजेट इन्फरमेसन सिस्टम (एलएमबीआईएस) बनाउन मिहिनेत गरेका थिए ।  बजेट महाशाखाका वहालवाला प्रमुख शाक्य पनि पूर्व प्रमुख संगै डामिएका हुन् भने यस अघि महाशाखा प्रमुख भएका वर्तमान अर्थसचिव मधु मरासिनी पनि डामिएका थिए। तर अदालतबाट सफाई पाएर फर्किएका छन्। 

१८ असार, २०४९ मा शाखा अधिकृतका रुपमा रामेछापको हुलाक कार्यालयबाट अर्यालले निजामती सेवा सुरु गरेका थिए । निजामति सेवामा असारमै प्रवेश गरेका उनलाई असारमै मुद्दा लाग्यो। 

उपसचिवका रुपमा उनले २०५६ देखि १० वर्ष राष्ट्रिय योजना आयोगमा काम गरेका थिए । उनले आयोगमा आर्थिक विश्लेषण र उद्योग, वाणिज्य, आपूर्ति, पर्यटन र जलस्रोत लगायतका क्षेत्रहरुमा काम गरेका थिए ।

२०६६ मा सहसचिव बनेपछि उनले केही साता गृह मन्त्रालयमा काम गरे । त्यसपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा भए । झण्डै २० महिना प्रधानमन्त्री कार्यालयमा काम गर्दा सञ्चार र कागजात व्यवस्थापनलाई डिजिटलाइज्ड गर्न उनले भूमिका खेलेका थिए ।

त्यसपछि उनी सहसचिवकै रुपमा अर्थ मन्त्रालयमा सरुवा भए, जहाँ उनले साढे ६ वर्ष आर्थिक मामिला तथा नीति विश्लेषण महाशाखा, बजेट तथा कार्यक्रम महाशाखा र अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखा प्रमुखको जिम्मेवारी सम्हालेका थिए । अर्थ मन्त्रालयमा एलएमबीआईएसका अतिरिक्त, कागजात व्यवस्थापन प्रणाली र सार्वजनिक खर्च समीक्षाका लागि डेटा व्यवस्थापन लगायतका विभिन्न प्रणाली सुधारमा संलग्न थिए ।

काठमाडौं फर्पिङका अर्यालले नर्वेजियन युनिभर्सिटी अफ लाइफ साइन्सेजबाट पीएचडी गरेका छन् । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र र जनप्रशासनमा स्नातकोत्तर तथा नर्वेको कृषि विश्वविद्यालयबाट विकास र स्रोत अर्थशास्त्रमा स्नातकोत्तर समेत गरेका छन् ।

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  ०८:१३
प्रतिक्रिया दिनुहोस्