कार्बन एकाउन्टिङ फाइनान्सियलको सदस्य बन्यो एनआईसी एशिया बैंक

सोमबार, असार १०, २०८१

एनआईसी एशिया बैंक कार्बन एकाउन्टिङ फाइनान्सियल (पीसीएएफ)को सदस्य बनेको छ । पीसीएएफको सदस्य बन्न पाउँदा गर्व महसुस गरेको बैकले जनाएको छ । 

'पीसीएएफ' विश्वव्यापी वित्तीय संस्थाहरूको सहकार्यमा ल्याइएको एक विश्वव्यापी पहल हो । यस संस्थाले उनीहरूको ऋण र लगानीसँग जोडिएको हरितगृह ग्यास उत्सर्जनको समानुपातिक मूल्याङ्कन र खुलासा सुनिश्चित गर्दछ ।

छ महादेशका ४८० भन्दा बढी वित्तीय संस्थाहरूसँग पीसीएएफ उत्तर अमेरिका, ल्याटिन अमेरिका, युरोप, अफ्रिका र एशिया-प्रशान्त क्षेत्रहरूमा द्रुत रूपमा विस्तार भइरहेको छ । पीसीएएफको सदस्य बनेसँगै अब  एनआईसी एशिया बैंकले आफ्नो कार्बनको पारदर्शी मूल्याङ्कनमार्फत वातावरणीय दिगोपनप्रति आफ्नो प्रतिबद्धतालाई जोड दिनेछ ।

एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशनकुमार न्यौपानेले भने, 'विश्व मौलिक रूपमा वातावरणमैत्री अभ्यासतर्फ सर्दै गएकाले एनआईसी एशिया बैंक पनि आफ्नो कार्बन फुटप्रिन्ट नाप्न, रिपोर्टिङ गर्न र दिगो अर्थतन्त्रतर्फ विश्वव्यापी परिवर्तनको पक्षमा जलवायु-मैत्री रणनीतिहरू निर्माण गर्न प्रतिबद्ध छ ।'

एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ सञ्जालहरू भएका बैंकहरूमध्येको बैंक हो । यस बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७१ एटीएम, ११८ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखारहित शाखा सञ्जालमार्फत गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
 

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  ०८:५३
प्रतिक्रिया दिनुहोस्