अहिलेसम्म सरकारले ४६ प्रतिशतभन्दा बढी पुँजीगत खर्च गर्न सकेन

मंगलबार, असार ११, २०८१

अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले अहिलेसम्म सरकारले ४६ प्रतिशतभन्दा बढी पुँजीगत खर्च गर्न नसकेको बताएका छन्। उनले बैंकहरुमा थुप्रिएको ६ सय अर्ब लगानीयोग्य रकमलाई बजारमा लैजान आर्थिक नीतिमार्फत सहज बनाउने बताएका छन्।

मंगलवार नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको आगामी मौद्रिक नीति विषय छलफल कार्यक्रममा सचिव मरासिनीले यस्तो बताएका हुन्। उनले चालु आवको अन्तिम असार महिनामा खर्च बढ्नुपर्ने अवस्थामा रहेको बताए। 

उनले बजेट जति छरपस्ट भए पनि अन्तिममा खर्च नहुने अवस्था रहेको भन्दै खर्च नभएको रकमलाई ल्याएर सिर्जित र अनिवार्य दायित्व राष्ट्रिय गौरव आयोजनाहरुमा दिने बताए। 

सचिव मरासिनीले राजश्वमा परेको दबाबका कारण अर्थतन्त्रमा चुनौती रहेको बताए। उनले अर्थ मन्त्रालयले सहुलियतपूर्ण कर्जा र बीमाको केही पैसा भुक्तानी निकासा गरिसकेको बताए। 

‘राजश्वमा दबाब परेको कारणले गर्दा पनि अर्थतन्त्रमा चुनौती छ। अर्थ मन्त्रालयले सहुलियतपूर्ण कर्जा र बीमाको केही पैसा भुक्तानी निकासा गरिसकेका छौँ। चालु आवको अन्तिम महिनामा छौँ‚ खर्च बढ्नुपर्ने वेला छ‚’ उनले भने, ‘हामीले हेर्ने अहिले बजेट जति छरपस्ट भए पनि अन्तिममा खर्च हुँदैन। त्यसलाई ल्याएर सिर्जित र अनिवार्य दायित्व राष्ट्रिय गौरव र अनिवार्य दायित्व तिर्ने हो।’

उनले सरकारले पारदर्शी रुपमा नै बजारलाई चलायमान बनाउने बताए। उनले अर्थ मन्त्रालयले बैंकमा भएको ६ सय अर्ब लगानीयोग्य रकमलाई नीतिगत रुपमा सहजीकरण गरी बजारमा जाने वातावरण बनाउने बताए। 

उनले उक्त पैसा निकास गर्न आर्थिक नीतिमार्फत सहज गर्न कुनैपनि कसर बाँकी नराख्ने उल्लेख गरे। उनले आर्थिक नीतिमा सुधार गरी बैंकहरुमा रहेको ६ सय अर्ब रुपैयाँ बजारमा जान सहज गर्ने बताए। उनले बजेट रकमान्तर र भुक्तानी दिने विषयमा अर्थ मन्त्रालय पारदर्शी रहेको दावी गरे।

‘हामी पनि पारदर्शी छौँ‚ पारदर्शी रुपमा नै बजारलाई चलायमान बनाउने हो। अर्थले बैंकमा भएको ६ सय अर्ब लगानीयोग्य रकमलाई प्राथमिकताका साथ हेरिरहेका छौँ‚’ उनले भने, ‘त्यो पैसा निकास गर्न आर्थिक नीतिमार्फत सहज गर्न कुनै पनि कसर बाँकी राख्दैनौँ। आर्थिक नीतिमा सुधार गर्छौं। बैंकहरुमा रहेको ६ सय अर्ब रुपैयाँ बजारमा जान सहज गर्छौं।’

उनले आगामी मौद्रिक नीति पनि अर्थतन्त्रलाई चलायमान बनाउने खालको आउनेमा आफू विश्वस्त रहेको बताए।

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  १६:४४
प्रतिक्रिया दिनुहोस्