सोसल मिडिया
युनिकोड
असार १५ सकेर त्यसको भोलिपल्टै देखि महाधिवेशन गर्न लागेको सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) लाई महाधिवेशनको चटारोले छोपेको छ।
असार १६ गतेदेखि २० गतेसम्म काठमाडौंमा १०औं राष्ट्रिय महाधिवेशन हुँदैछ । महाधिवेशनको सबै तयारी पूरा भईसकेको र निर्धारित समयमै महाधिवेशन हुने एकीकृत समाजवादीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले बताएका छन् ।
आइतबारबाट सुरु हुने महाधिवेशनका लागि देशभरबाट करिब एक हजार आठ सय महाधिवेशन प्रतिनिधि छनोट भईसकेका छन् । महाधिवेशनले २१ पदाधिकारीसहित २ सय ९९ सदस्यीय केन्द्रीय कमिटीको चयन गर्नेछ । यसअघि १९९ केन्द्रीय कमिटी रहने भनिएकोमा बिहीबार बसेको सचिवालय बैठकले २९९ जनाको कमिटी बनाउने, सम्मानीत नेताको पद कायमै राख्ने र वरिष्ठ उपाध्यक्ष थप गर्ने निर्णय गरेको थियो ।
महाधिवेशन सुरु हुन जम्मा १ दिनमात्र बाँकी रहँदा नेताहरुबीच नेतृत्वका लागि रस्साकस्सी सुरु भईसकेको छ । एकीकृत समाजवादीको अध्यक्षका लागि हालका अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसाल मैदानमा उत्रिने देखिएको छ । यसअघि सम्मानीत नेता झलनाथ खनालले पनि अध्यक्षमा दाबी गर्दै आएका थिए । तर, बुधबार खनाल र भुसालबीच मिलेर अघि बढ्ने समझदारी जुटेको हो । यद्यपि खनालको सचिवालयले मिलेर जाने सहमतिमात्र भएको तर, अध्यक्षमा समर्थन गरिनसकेको बताएको छ ।
माधवले अध्यक्षमा पुनः दोहोरिने चाहना राखिरहँदा खनालले भुसालसँग कार्यादेश मिलेको भन्दै उनलाई समर्थन गरेमा भुसाल र नेपालबीच प्रतिस्पर्धा हुने निश्चितजस्तै देखिन्छ । वैचारिक रुपान्तरण र पुस्तान्तरणको नारा दिएर खनाल–भुसाल अघि बढिरहेका हुन् ।
खनाल र भुसाल मिलेर आफूलाई पाखा लगाउने खोजिएको भन्दै हालका अध्यक्ष नेपाल रुष्ट बनेका छन् । बुधबार खनाल निवास डल्लूमा भुसालसँग खनाल मिलेको तस्बिर सावर्जजनिक भएपछि नेपालले सचिवालय बैठकमै असन्तुष्टि जर्नाका छन् । उनले बुधबार आफूलाई कुनै पनि जानकारी नदिई २ नेताबीच गठजोड बनेको भन्दै असन्तुष्टि जनाएका हुन् ।
बैठकमा सहभागी एसका एक नेताले दिएको जानकारी अनुसार बैठकमा नेताहरुबीच निक्कै घोचपेच चलेको थियो । नेपालले खनाल र भुसाललाई लक्षित गर्दै फोटोसेसन राम्रो चलेछ नि हैन ? भन्दै प्रश्न गरेका थिए । ‘हिजो त कमरेडहरूबीच फोटोसेसन गजबले भएछ , छलफलमा एकले अर्को मिलेर जाने भन्ने निर्णय भएछ । मलाई बोलाएको भए म पनि आउथे, छलफल हुन्थ्यो । म पनि मिलेर जान्थे’ बैठकमा कडकिँदै नेपालले भनेका थिए ।
खनाल निवास डल्लुमा बुधबार खनाल र भुसालबीच भएको बैठकमा घनश्याम भुसाललाई अगाडि बढाउन खनाल सहमत भएका बताइएको छ । उक्त छलफलमा नेताहरू प्रकाश ज्वाला, जीवनराम श्रेष्ठ, नरेश शाही र सन्दीप राई सहभागी थिए । पहिलो चरणमा उनीहरूबीच सामूहिक छलफल भएको थियो । उक्त छलफलमा खनालले अगाडि सारेको समाजवादी कार्यक्रमलाई भुसालले साथ दिने र नेतृत्वमा भुसाललाई खनालले साथ दिने सहमति भएको छ ।
बुधबार खनाल निवासमा भएको भनिएको छलफलबाट तर्सिएका नेपालले बिहीबार भुसालकै लागि भनेर वरिष्ठ उापध्यक्ष पद सिर्जना गर्ने र आवश्यक्ता अनुसार पदाधिकारी थप गर्ने निर्णय गराएका छन् । बिहीबारको निर्णयअनुसार भएमा भुसाल महासचिवबाट बढुवा भएर वरिष्ठ उपाध्यक्ष बन्नेछन् भने नेपाल अध्यक्षमा दोहोरिनेछन् । हालका उपमहासचिव जगन्नाथ खतिवडालाई महासचिव बनाउने नेपालको तयारी छ ।