महामन्त्री मुकुललाई सभापति रविले घन्टीको रालो निकालेर बाँध्ने 

शनिबार, असार १५, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अनुशासन आयोगले पार्टी महामन्त्री मुकुल ढकाललाई स्पष्टीकररण सोधेको छ । महामन्त्री ढकालले पेश गरेको प्रतिवेदनलाई लिएर स्पष्टीकरण सोधिएको हो ।

महामन्त्री ढकालले देशका ३८ जिल्ला घुमेर १ महिना लामो समीक्षा यात्रापछि बुधबार ३२ पेजको प्रतिवेदन पार्टी सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बुझाएका थिए ।

ढकालले आफ्नो प्रतिवेदनमा रास्वपाले बेलैमा कठोर निर्णय नलिएमा केही समयमा नै पार्टी विवेकशीको हालतमा पुग्ने चेतावनी दिएका थिए । उनले तत्काल सरकारबाट हट्नुपर्ने, एमाले माओवादीसँगको साँठगाँठ त्यागेर काठमाडौंका मेयर बालेन हाल र धनगढीका मेयर गोपी हमालसँग मिल्नुपर्ने बताएका थिए ।

आयोगले महामन्त्री ढकाललाई अनुशासन भङ्ग गरेको भन्दै स्पष्टीकरण सोधेको बताइएको छ । आज (शुक्रबार) महामन्त्री ढकाललाई स्पष्टीकरण पत्र थमाइएको रास्वपा स्रोतले बताएको छ ।

यद्यपि महामन्त्री ढकालले भने आफूलाई अहिलेसम्म कसैले स्पष्टीकरण नसोधेको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘मलाई अहिलेसम्म पार्टी सभापतिले स्पष्टीकरण सोध्नुभएको छैन ।’

प्रकाशित मिति: शनिबार, असार १५, २०८१  ०९:४०
प्रतिक्रिया दिनुहोस्