सोसल मिडिया
युनिकोड
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को १० औँ राष्ट्रिय महाधिवेशन आजबाट सुरु हुँदैछ । असार २० गतेसम्म कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने महाधिवेशनको उद्घाटन सत्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु सहभागी हुँदैछन् । महाधिवेशनमा देशभरिबाट एक हजार ८४७ जना प्रतिनिधिले समभागिता जनाउँदैछन् ।
महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेज समेत तयार भइसकेको छ भने महाधिवेशनमा पाँच प्रतिशत मनोनीत गर्ने व्यवस्था कार्यान्वयन गरिदैछ । पार्टी विधान अनुसार केन्द्रीय कमिटी २९९ सदस्यीय, पदाधिकारी सङ्ख्या २१ जना हुने, पार्टी केन्द्रीय कमिटीले निर्णय गरी सम्मानित नेता र वरिष्ठ नेताको व्यवस्था गरिदैछ ।
त्यसै गरी पार्टीको अध्यक्ष पदमा प्रतिस्पर्धा गर्न पार्टीको स्थायी कमिटीको सदस्य हुन योग्यता पुगेका व्यक्ति हुनुपर्ने र उपाध्यक्ष, उपमहासचिव र सचिव बन्न पोलिटब्युरोको सदस्य बन्न योग्यता पुगेका व्यक्ति हुनुपर्ने व्यवस्था गरिएको छ । पार्टीको केन्द्रीय कमिटीमा एक कार्यकाल पूरा गरेका केन्द्रीय सदस्यले मात्र पदाधिकारीमा प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गरिएको छ ।
त्यसै गरी पार्टीको केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन कमिटी, केन्द्रीय लेखापरीक्षण कमिटी र केन्द्रीय निर्वाचन कमिटीको सदस्य बन्न केन्द्रीय कमिटी वा केन्द्रीय निकायको सदस्य भई काम गरेको वा पार्टीको सङ्गठित सदस्य भई कम्तीमा १० वर्ष काम गरेको वा प्रदेश कमिटीको सदस्य भई एक कार्यकाल वा जिल्ला कमिटीको सदस्य भई दुई कार्यकाल काम गरेका व्यक्ति केन्द्रीय सदस्य बन्न योग्य हुने जनाइएको छ ।
महिला, दलित, सीमान्तकृत जनजाति र अपाङ्गता भएकाको हकमा भने सङ्गठित सदस्य भई सात वर्ष काम गरेको र एक कार्यकाल जिल्ला कमिटीमा रही काम गरेका व्यक्ति मात्र उम्मेदवार बन्न योग्य हुने जनाइएको छ ।
महाधिवेशनमा उम्मेदवार बन्नका लागि एमालेमा नै काम गरेको अवधिलाई गणना गरिने छ । त्यसै गरी सो पार्टीले आसन्न महाधिवेशनलाई १० औँ राष्ट्रिय महाधिवेशनका रूपमा दाबी गरेको छ । यता, निम्तो पाएर पनि एमाले अध्यक्ष ओली भने नजाने बुझिएको छ। ओली प्रचण्डलाई लिएर केही समय अघि मात्र नेपाल निवास कोटेश्वर पुगेका थिए। जतिबेला सत्ता टिकाउनु थियो।