संसद् कानुन बनाउने थलो मात्रै नभएको सभामुखको ठहर

आइतबार, असार १६, २०८१

सभामुख देवराज घिमिरेले संसद् कानुन बनाउने थलो मात्रै नभई राष्ट्र निर्माण गर्ने महत्त्वपूर्ण केन्द्र भएको बताएका छन् ।आइतबार संसद् भवनमा ६६ औँ संसद् दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले संसद्लाई विधायन निर्माण गर्ने ठाउँको रूपमा मात्रै बुझ्न नहुने बताए । संसद्को कूटनीतिले मात्रै जनताका भावना एक ठाउँमा ल्याउन सकिने उनको भनाइ छ । 

सभामुख घिमिरेले संसदीय कूटनीतिले देशलाई ठिक दिशामा लैजान महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनले सरकार पनि संसदबाटै निर्देशित हुने भन्दै संसद्ले लिने अठोट र भूमिकाले नै देशलाई ठिक दिशामा चलाउन सकिने बताए । 

उनले संसद्ले जनताको हृदयमा संसदीय कूटनीतिलाई स्थापित गर्नेगरी व्यवहारतः काम गर्नसक्छ कि सक्दैन भन्नेकुरा नै अहिलेको मननयोग्य रहेको बताए । उनले अहिले संसद्ले २०१५ सालको निर्वाचनको परिणामदेखि संसद्ले खेलेका भूमिकालाई अर्काइभ गर्ने, डिजिटलाइज गर्ने काम गरिसकेको बताए । 

उनले २००७ सालदेखि बनेका कानुन अहिलेको प्रविधिअन्तर्गत डिजिटलाइज गर्ने र सुरक्षित गर्ने काममा संसद् लागिपरेको बताए ।

उनले भने, ‘‘संसद् एउटा विधायन निर्माण गर्ने ठाउँ मात्रै, कानुन बनाउने थलो मात्रै होइन राष्ट्र निर्माण गर्ने महत्त्वपूर्ण केन्द्र हो । राष्ट्र निर्माण गर्नको लागि, यसैबाट सरकार निर्देशित हुन्छ र सरकार यसको आधारमा चल्नुपर्छ ।’’ 

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १४:४७
प्रतिक्रिया दिनुहोस्