मन्त्री हेरफेर गर्दै प्रचण्ड, ओलीले उद्योग छोड्छन् कि सत्तै छोड्छन् ?

आइतबार, असार १६, २०८१

नेकपा एमालेका अध्यक्ष केपी ओली जन्मिएकै बारको छेको पारेर कांग्रेस सभापति शेरबहादुर देउवा सपत्नी शनिवार ओली निवास पुएर तीन घण्टा बसेपछि नेपालको राजनीति गर्माएको छ। 

सत्ता गठबन्धनमा दरार आउन सक्ने बताएकै बेला प्रधानमन्त्री प्रचण्ड भने मन्त्रिपरिषद् हेरफेर गर्ने टुंगोमा पुगेका छन्। त्यसका लागि उनले सोमबार साँझ सत्तागठबन्धनको बैठक नै डाकेका छन्। उता ओली भेटेर फर्किएका देउवाले पनि सोमबार नै तीन बजे कांग्रेसको पूर्व र वर्तमान पदाधिकारीको बैठक बोलाएका छन्। 

प्रतिनिधि सभामा ६ सांसद रहेको जनमत पार्टी र ४ सांसद भएको नागरिक उन्मुक्ति पार्टी (नाउपा) लाई सरकारमा ल्याउन लागिएको प्रधानमन्त्रीनिकट स्रोतले जानकारी दिएको छ। यसैका लागि प्रधानमन्त्री प्रचण्डले सोमबार साँझ सत्ता गठबन्धनका दलहरूको बैठक बोलाएका छन्। १८ गते शपथ गर्ने गरी नयाँ मन्त्री थप्ने सहमति बनेको श्रोतको दाबी छ। 

नागरिक उन्मुक्तिलाई नेकपा माओवादी केन्द्रले समालिराखेको संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय दिने सहमति जुटिसकेको स्रोतले बताएको छ। नाउपाले पाएको भागमा अध्यक्ष रञ्जिता श्रेष्ठ मन्त्री बन्ने निश्चित छ। यस अघि २०७९ चैत १७ गते नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ भूमि व्यवस्था तथा सहकारी मन्त्री बनेकी थिइन्। 

यस्तै, जनमत पार्टीबाट अध्यक्ष चन्द्रकान्त (सीके) राउत आफै मन्त्री बन्ने सम्भावना छ। यद्यपि, अहिलेसम्म उनले पाउने मन्त्रालय टुंगो लागिसकेको छैन। जनमतका अध्यक्ष राउतले आफ्नो दललाई दिने मन्त्रालय टुंगो लागेपछि मात्र मन्त्रीबारे निर्णय गर्ने बताए। राउतले उद्योग, वााणिज्य तथा आपूर्ति मन्त्रालयमा दाबी गरेका छन् ।

देउवाले ओली भेटेपछि कांग्रेसले बोलाएको पदाधिकारी बैठकले अर्थ राख्ने बुझिएको छ। यता, प्रचण्डले हतारमा क्याबिनेट हेरफेर गर्न खोज्नुको पनि अर्थ रहेको जानकारहरूको तर्क छ। थप उथलपुथल हेर्न केही दिन पर्खने पर्ने भएको छ। बालकोट पुगेर देउवाले ओलीलाई प्रधानमन्त्री प्रस्ताव गरेको हल्लाका विच एमालेले जनमतलाई उद्योग मन्त्रालय छोड्छ कि वर्तमान सत्ता छोडेर कांग्रेसको प्रधानमन्त्री तर्फ लाग्छ हेर्नै पर्ने भएको छ। 
 

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  २२:२७
प्रतिक्रिया दिनुहोस्