सोसल मिडिया
युनिकोड
वर्तमान सत्ता गठबन्धन टुट्ने बजारिया हल्लाले त्यहि बेला बजार ततायो जतिबेला कांग्रेस सभापति शेर बहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीले तीन घण्टा सम्म ओली निवास बालकोटमा गफ गरेको कुरा बाहिरियो।
त्यसपछि त राजनीति तरंगित बनेको बनेकै छ । तर, ओली र देउवा दुवै एकप्रकारले तैं चुप मैं चुपको अवस्थामा छन्। सरकारमा रहेकाले गच्छे अनुसार प्रष्टिकरण दिई रहेकै छन्।
सत्ता फेरबदल नहुने साविती बयान दिनेको कमी छैन। तर नेताहरूले भने मङ्गलबारसम्म कांग्रेस र एमाले मिलेर गठबन्धन सरकार बन्ने कुराको टुङ्गो लगाउने ठोकुवा गरेका छन्।
भरपर्दो उच्च स्रोतका अनुसार कांग्रेस र एमालेबीच भागबण्डामा कुरा भइरहेको छ । भोलिसम्म खाका आइसकेर नयाँ गठबन्धन सरकार गठनको प्रक्रिया सुरु हुने बताइएको छ। यसका लागि एमाले अध्यक्ष केपी ओलीले बुटवल पुगेका विष्णु पौडेललाई राजधानी फर्काएका छन्।
एमाले अध्यक्ष ओली, उपाध्यक्ष पौडेल र उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ बालकोटमा छलफल गरिरहेका छन् भने कांग्रेसका शीर्ष नेताहरू पनि विभिन्न चरणमा अनौपचारिक छलफल गरिरहेको कांग्रेस स्रोतको भनाइ छ।
एमाले नेताहरूका अनुसार गठबन्धनमा शक्ति बाँडफाँटको प्रारम्भिक खाका तयार भइसके पनि मंगलबार सम्म सबै सहमति भइसक्ने छ । एमाले अध्यक्षलाई प्रधानमन्त्री मानेर जान कांग्रेस सभापति शेरबहादुर देउवा तयार भएपछी चिजको विकाश भएको एमाले नेताको दाबी छ।
एमाले र कांग्रेसबीच सहमतिका लागि अहिले कांग्रेसबाट प्रमुख सचेतक रमेश लेखक र ज्ञानेन्द्रबहादुर कार्की र एमालेबाट महासचिव शंकर पोखरेल तथा रमेश बडालसहितका नेताहरू सम्झौताको ड्राफ्ट तयार पार्न जुटेका छन्।
उच्च श्रोतका अनुसार मन्त्रालयको भागबण्डा समेत मोटामोटी टुंगो लागिसकेको छ। तर त्यसलाई लिखतमै उतार्ने कि भद्र सहमति गर्ने भन्नेमा नेताहरु विच छलफल चलेको छ।
प्रधानमन्त्री ओली बन्ने निश्चित भएको छ। त्यस्तै प्रधानमन्त्रीले निर्धक्कसँग काम गर्न पाऊन् भन्नका लागि अर्थ एमालेले र गृह मन्त्रालय काङ्ग्रेसले नै राख्ने कुरामा देउवा सहमत भएका छन्।
पहिलो कार्यकाल एमालेले सरकार बनाउने र २०८४ सालको निर्वाचन गराउने गरी चुनावी सरकारको नेतृत्व कांग्रेसले लिने समझदारी भएको स्रोतले बतायो ।
पूर्व प्रधानन्यायाधीशको अध्यक्षतामा संविधान संशोधन समिति बन्ने प्रमुख दुई दलबीच विद्यमान निर्वाचन निर्वाचन प्रणालीमा सुधारका लागि संविधान संशोधन गर्ने सहमति भएको छ ।
यो भए संगै प्रचण्डको पाँच बर्षे प्रधानमन्त्री बन्ने योजनामा पूर्णविराम लागेको छ। धेरै हल्ला गर्दा योजना तुहिने भएकाले देउवा ओली सहमतिमै चुप लागेको श्रोतको भनाई छ।