प्रचण्डले राजीनामा नदिए एमालेले आजै मन्त्री फिर्ता बोलाउने

बुधबार, असार १९, २०८१

एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा नगरे मन्त्रीहरूलाई फिर्ता बोलाउने तयारी गरेको छ ।

एमाले प्रमुख सचेतक महेश बर्तौलाले आज साँझसम्ममा मन्त्री फिर्ताको निर्णय हुने जानकारी दिए । “प्रधानमन्त्रीले मार्गप्रशस्त नगरे हाम्रा मन्त्री फिर्ता गछौँ । साँझसम्म त्यो निर्णय हुन्छ,” उनले भने ।

मंगलबार बसेको सचिवालय बैठकले प्रधानमन्त्रीलाई मार्गप्रशस्त गर्न आजसम्मको समय दिएको थियो । नेपाली कांग्रेससँग सत्तासाझेदारीको सहमति भएपछि एमालेले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा दिन आग्रह गरेको हो । माओवादीका नेताहरू प्रधानमन्त्री विश्वासको मतको प्रक्रियामा जाने बताउँछन् ।

एमालेले मन्त्रीहरूको राजीनामासँगै सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय गर्ने तयारी गरेको हो । त्यो भएपछि मात्र प्रधानमन्त्रीले विश्वासको मत लिने दिनको गन्ती हुन्छ।
 

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  १४:३६
प्रतिक्रिया दिनुहोस्